काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अहिले जारी हुने खेलमा ओमानले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । ओमानका कप्तानले टस जित्दै ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङको निम्तो पाएको हो ।
आजको खेलका लागि नेपाली टोलीमा एक परिवर्तन गरिएको छ । अघिल्लो खेलमा खेलेका स्पिनर ललित नारायण राजवंशीको स्थानमा अलराउन्डर गुल्सन झालाई प्लेइङ–११ मा समावेश गरिएको हो । तीव्र गतिको बलिङसँगै ब्याटिङमा सम्भावना भएकाले नेपालले गुल्सनलाई मैदान उतारेको हो ।
घरेलु मैदानमा नेपाल आज ओमानलाई न्यून स्कोरमा रोक्दै लिग–२ को तालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।
पुरानो प्रतिद्वन्द्वी ओमान
लिग–२ को अघिल्लो चक्रमा सन् २०२० फेब्रुअरीमा ओमानले नेपाल भ्रमण गर्दा नेपाली टोलीको स्वरूप निकै फरक थियो । त्यतिबेला ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपालविरुद्ध ओमानले कीर्तिपुरमा ‘क्लिन स्विप’ गरेको थियो । संयोगवश, सोही शृङ्खला नै नेपालको घरेलु मैदानमा खेलिएको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल थियो ।
चार वर्षअघिको त्यो टोलीका दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र विनोद भण्डारी अहिले पनि टोलीमा छन् । तर, ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले त्यतिबेला डेब्यु गरेका थिएनन् । अहिले नेपाली टोलीको कमान रोहित पौडेलको हातमा छ भने ओमानको नेतृत्व जतिन्दर सिंहले गरिरहेका छन् ।
लिग २ मा नेपाल अहिले २१ खेलबाट १४ अंकसहित तालिकाको सातौँ स्थानमा छ । शीर्ष चारभित्र रहँदै एकदिवसीय विश्वकप छनोटमा पुग्न नेपाललाई बाँकी रहेका १५ खेलमध्ये करिब १२ खेल जित्नुपर्ने दबाब छ । कप्तान रोहित पौडेलले ब्याटिङमा सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ बैशाख २०८३, ११ : १३
लेखकबाट थप