युवतीको प्रयोग गरेर धनाढ्यहरूलाई जालमा पार्ने अनि अपहरण गरेर फिरौती उठाउने घटना विश्वभरि नै हुने गरेका छन्। जसलाई ‘हनी ट्र्यापिङ’ भन्ने गरिन्छ।
नेपालमा पनि केही वर्षयता बेला–बेला युवतीले प्रेम र यौनजन्य हर्कत गरेर धनाढ्यलाई ब्ल्याकमेल गरेका घटना सार्वजनिक भइरहेका छन्। पछिल्लो पटक झापाका एक जना व्यापारी युवतीको मीठो स्वरमा मक्ख पर्दा हनी ट्र्यापिङमा परे।
बेलायतको इन्टेलिजेन्स एन्ड सेक्युरिटी एजेन्सी एमआई फाइभ (मिलिटरी इन्टेलिजेन्स, सेक्सन फाइभ) ले सन् २००९ मा ‘चाइनिज जासुसबाट खतरा’ शीर्षकको १४ पृष्ठ लामो डकुमेन्ट सयौँ ब्रिटिस बैंक तथा व्यापारिक संस्थामा वितरण गरेको थियो। जसमा यौन सम्बन्धलाई माध्यम बनाएर धनाढ्य र व्यवसायीलाई ब्ल्याकमेल गर्ने गरिएको उल्लेख थियो। विश्वमा त्यसभन्दा पहिले पनि यस्ता घटना हुन्थे। तैपनि, एमआई फाइभको प्रतिवेदनपछि विश्वव्यापी रूपमा हनी ट्र्यापिङको चर्चा भयो।
युवतीको प्रयोग गरेर पैसावाल व्यक्तिलाई फसाउने अनि अपहरण गरेर फिरौती उठाउने हनी ट्र्यापिङका घटना काठमाडौँ र दाङमा भएका थिए। पूर्वको झापामा पहिलो पटक त्यस्तै घटना भएको छ। झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयका डीएसपी मोहनकुमार थापा भन्छन्, ‘पूर्वमा अहिलेसम्म यस्तो घटना सुनेको थिइनँ।’
युवतीको फोन आएपछि
प्रहरी विवरणअनुसार झापाको बिर्तामोडमा सिसा पसल चलाउने एक व्यापारीको मोबाइलमा गएको असार २८ गते अपरिचित युवतीको फोन आयो। युवतीले भनिन्, ‘अर्कै ठाउँमा गरेको, मिस्टेक भएर तपाईंकोमा परेछ।’
व्यापारीले चाख मानेर उनका कुरा सुने। युवतीले आफ्नो नाम जिया खान बताइन्। उनीहरूको गफ लम्बियो। भोलिपल्ट पनि युवतीको फोन आयो। उनीहरूबीच इमोमा कुराकानी हुँदै भिडियो कलसमेत हुन थाल्यो। राम्री युवती देखेपछि व्यापारी पनि मक्ख परे। कुरा हुन थालेको दुई दिनमै उनीहरूबीच भेट्ने, डेटिङ जानेदेखि सेक्ससम्मका कुरा भए। उनीहरूको साउन १ गते भेट्ने योजना बन्यो।
पूर्वयोजनाअनुसार साउन १ गते साँझको ७ बजेतिर बिर्तामोडको कुमारी बैंकनजिकै उनीहरूले भेटे। व्यापारीले युवतीलाई होटलमा लैजान खोजेका थिए तर युवतीले ‘होटलमा खतरा हुन्छ, बरु साथीको कोठामा जाऊँ’ भनेर प्रस्ताव राखिन्। त्यसपछि व्यापारीलाई पछि लगाएर युवती सानो गल्लीतिर लागिन्। व्यापारी उनको पछि लागे। गल्लीभित्रको एउटा घरको चारतला माथिको कोठामा पुगे। कोठा खाली थियो। दुवै जना भित्र पसे र ढोकाको चुकुल लगाएर बसे।
व्यापारी र युवती कोठाभित्र पसेको केही बेरमै कसैले ढोका ढकढक्यायो। ढोकाबाहिर मुखमा मास्क लगाएका, हातमा छुरी र पिस्तोल बोकेका मान्छे थिए। उनीहरूले व्यापारीलाई नांगै बनाई भिडियो खिचे। त्यसपछि ‘५० लाख दिने कि भिडियो भाइरल बनाइदिऊँ’ भनेर बार्गेनिङ सुरु गरे।
व्यापारी छाँगाबाट खसेजस्तो भए। व्यापारीले आफूसँग त्यत्रो पैसा नभएको भन्दै आग्रह गरिरहे। हतियारधारीले पैसाको बार्गेनिङ गरिरहे। त्यो समूहमा व्यापारीले चिनेका व्यक्ति मेराज खान पनि रहेछन्। मेराजको रोहवरमा साउन ५ गतेभित्र ४० लाख रुपैयाँ बुझाउने शर्तमा दुई घण्टापछि राति १० बजेतिर व्यापारी छुटे।
कल डिटेलले पक्राउ
सामान्य अवस्थाका व्यापारीको तुरुन्तै ४० लाख रुपैयाँ निकाल्ने हैसियत थिएन। तर, उताबाट बारम्बार ‘पैसा रेडी भयो ?’ भनेर फोन आउन थाल्यो। तनावमा परेका व्यापारीले प्रहरी कार्यालय पुगेर घटनाबारे विस्तार लगाए। प्रहरीले व्यापारीलाई हनी ट्र्यापिङमा पारेको थाहा पायो। व्यापारीले प्रहरीमा उजुरी दिए।
उजुरीपछि प्रहरीले व्यापारीसँग परिचित मेराज खानका गतिविधि निगरानी गर्न थाल्यो। व्यापारीसँग पैसा माग्न, धम्क्याउन प्रयोग भएका मोबाइल नम्बरका कल डिटेलको विश्लेषण गरियो। उनीहरूले प्रयोग गरेका इमो, भाइबर, फेसबुकको अध्ययनपछि प्रहरीले साउन ४ गते झापा, बिर्तामोड–४, भद्रपुर रोड, बिजुली अफिस पश्चिम बस्ने २९ वर्षीय मेराज खान, इलाम फाकफोकथुम गाउँपालिका–१ घर भई हाल झापा बिर्तामोड–२, चारपाने बस्ने २० वर्षीया ऋतु फियाक लिम्बू, भारत पश्चिम बंगाल, दार्जिलिङ थाना खोरीबारी घर भएका २७ वर्षीय सञ्जु क्षत्री भनिने सुजन शंकर र बिर्तामोड–४ बस्ने २५ वर्षीय प्रकाश दासलाई पक्राउ गर्यो। सुम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १५ साउन २०७६, २१ : १३
लेखकबाट थप