स्कुल विभागको नेतृत्वलाई लिएर पूर्वएमालेमै दुई धार

ओली पक्षमात्र इश्वर पाखेरेलको पक्षमा, माधव, झलनाथ र वामदेवको साथ नारायणकाजीलाई

सफल खबर संवाददाता

शुक्रबार, १० साउन २०७६, ११ : २७
स्कुल विभागको नेतृत्वलाई लिएर पूर्वएमालेमै दुई धार

काठमाडौं । सत्तारुढ दल नेकपामा स्कुल विभागको नेतृत्वलाई लिएर चर्केको लफडा अझै टुंगिएको छैन । पार्टीको वैचारिक राजनीतिक प्रतिवेदनका आधारमा आमपार्टी पङक्तिलाई प्रशिक्षित गर्ने, स्कुल चलाउने जिम्मेवारी रहेको स्कुल विभागको नेतृत्वलाई लिएर अहिले नेकपाभित्र नयाँ विवाद देखा परेको छ ।
विभाग नेतृत्वका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश), उपप्रधान तथा रक्षामन्त्री समेत रहेका इश्वर पोखरेल दुवैको अडानमा टसमस नभएपछि पार्टी सचिवालय वैठक नै समेत दुई पटक स्थगित भईसकेको छ ।
अव अर्काे वैठक कहिले वस्ने ठेगान छैन । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा वरिष्ठ नेता झलनाथ खनाल भन्छन्, –वैठक स्कुल विभागको नेतृत्वमा एउटा समझदारी वनाएर मात्र वस्छ । उनको भनाईमा यो विवाद धेरै दिन लम्विदैन । ‘एक दुई दिनभित्र स्कुल विभागको नेतृत्वमा एउटा समझदारी जुटछ होला, त्यसपछि मात्र अव सचिवालय वैठक वस्छ,’ वरिष्ठ नेता खनालले भने,‘त्यसका लागि अध्यक्षद्दयले गृहकार्य गरिरहनु भएको छ ।’
प्रवक्ता श्रेष्ठ र सचिवालय सदस्य पोखरेलको वीचमा स्कुल विभागको नेतृत्व कसले हत्याउने भन्ने रस्साकस्सी चलिरहेका वेला विभागको नेतृत्वका लागि थप पात्रहरु पनि देखा परेका छन् । स्थायी समिति सदस्यहरु डा वेदुराम भुषाल र घनश्याम भुषालले पनि विभागको नेतृत्वका लागि दावी गरेका छन् । केही नेताहरुले भने राम कार्कीको नाम समेत चर्चामा ल्याएका छन् । तर नेतृत्वले विभाग कसलाई दिने भन्ने अहिलेसम्म पनि टुग्गो लगाउन सकेका छैनन ।
यसका कारण पनि नेकपामा स्कुल विभागको विवाद पेचिलो वन्दै गएको छ ।

भागवन्डामा टुंगिएकै थिएन स्कुल विभाग
यदाकदा पूर्वएमालेभित्रका पनि ओली पक्षका नेता कार्यकर्ताहरुले स्कुल विभाग पनि भागवन्डा गर्दा पूर्व एमालेको भागमा परेको जिकिर गरिरहेका छन् । एमालेको भागमा परेको विभागको नेतृत्व एमाले पङक्तिवाट कसलाई पठाउने भन्ने छिनोफानो लगाउने काम तत्कालिन एमाले तर्फकै नेताहरुको भएको तर यसमा अध्यक्ष प्रचण्डले यो हुन्छ र यो हुदैन भनेर ब्यक्तिका नाममा खेल्न खोजेको आरोप ओली पक्षका नेताहरुले लगाएका छन् ।
तर खासमा स्कुल विभागको नेतृत्व यो पक्षले लिने भन्ने दुई अध्यक्षको छलफलमा सहमति वनेकै थिएन । वताइए अनुसार, नेकपाको ३२ विभाग र एउटा नीति अध्ययन प्रतिष्ठान गरी ३३ ओटा पार्टी संरचनामध्ये स्कुल विभागलाई छोडेर तत्कालिन एमाले पक्षका ले १८ र माओवादी पक्षकाले १४ विभागको नेतृत्व लिने समझदारी दुई अध्यक्षका वीचमा भएको थियो । स्कुल विभागका विषयमा भने थप छलफल गर्ने समझदारी मात्र दुई अध्यक्षका वीचमा भएको थियो ।
त्यही क्रममा संगठन, विदेश, निति अध्ययन प्रतिष्ठान एमाले तर्फका नेतालाई र प्रचार, अर्थ लगायत विभाग माओवादी तर्फका नेताले लिने समझदारी वनेको थियो । स्कुलमा भने छलफल गर्ने समझदारी थियो । तर ओली पक्षका नेताहरुले पछि यो विागमा पनि सहमति भएको भन्दै एकता विरोधी कुरा गरिरहेका छन् ।
स्कुल विभागमा राजनीतिक प्रतिवेदन लेखन कार्यमा रहेका नेता श्रेष्ठलाई नै दिदा हुने पूर्व एमाले धारभित्रकै नेता कार्यकर्ताले पनि वताउन थालेका छन् । पोखरेलको पक्षमा ओली पक्षका नेताहरु मात्र लागेका छन् । तर श्रेष्ठको पक्षमा माओवादी एक्ढिक्का छ । वरु उल्टै एमाले धारका नेताहरु वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले पनि प्रवक्ता श्रेष्ठको पक्षमा वकालत गरिदिएका छन् । यही कारण प्रधानमन्त्री ओली अप्ठायारेमा परेका छन् ।
पोखरेलले स्कुल विभागलाई आफनो जीवनमरणको विषय वनाएको र यस्तो वेला श्रेष्ठलाई जिम्मेवारी दिदा अप्ठायारो पर्ने ठानी ओलीले निर्णय गर्न आनाकानी गरिरहेका छन् ।
एमालेमा यो विषयमा प्रष्ट दुई धार देखिएको छ । ओली पक्ष पोखरेलको पषमा र अन्य नेताहरु प्रवक्ता श्रेष्ठको पक्षमा ।
तर पनि यो विषयको छिनोफानो हुन सकेको छैन । पोखरेल र श्रेष्ठमध्ये एकलाई दिने की, अन्य दावेदारका रुपमा आएका घनश्याम भुषाल र वेदुराम भुषाललाई दिने की, दुई अध्यक्ष आफैले जिम्मेवारी लिने की वा एमाले वृतवाट वामदेवलाई स्कुल र इश्वरलाई संगठन विभागको जिम्मा दिने भन्ने अनेक खाले विकल्पमा पनि छलफल भने चलेको छ ।
तर एमाले धारकै ओली इतर पक्षका नेताहरुले श्रेष्ठलाई साथ दिएपछि श्रेष्ठको सम्भावना वलियो वन्दै जान थालेको पनि देखिन्छ । तर यो विषयमा आज पनि दुई अध्यक्षका वीचमा छलफल हुने नेताहरुको भनाइृ छ ।

प्रतिक्रिया दिनुहोस