काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले माओवादी केन्द्रले २०८४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गरेका छन् ।
हालै सकिएको स्थायी कमिटी बैठकले पार्टीलाई नयाँ ऊर्जा दिएको पनि उनले बताए । हाल माओवादी पार्टीका जनवर्गिय सङ्गठन, विभिन्न मुक्तिमोचाहरु असाधारण तरिकाले पार्टी निर्माणमा लागेकोले २०८४ सालमा माओवादी केन्द्रको स्पष्ट बहुमत आउने उनको दाबी छ ।
पार्टीले सञ्चालन गरेको हुलाकी राजमार्ग अभियान, मध्यपहाडी लोकमार्ग अभियानले माओवादीलाई जनतासँग जोड्न सफल भएको बताए । माओवादी पार्टी केही समय रुमल्लिए जस्तो, अलमलिएजस्तो देखिए पनि अब यसले गति लिएको उनको भनाई छ ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले कहिले एमाले, कहिले काँग्रेससंग मिल्ने हुँदा माओवादीको ‘छुट्टै अस्तित्व नभएको होकी’ जस्तो देखिँदा जनता, शहीद तथा बेपत्ता परिवार पार्टीसँग केही टाढा भएकोले पार्टी बीचमा केही कमजोरी भएको स्वीकार गरे । पार्टीको वर्ग दृष्टिकोण भुत्ते, धुमिल भएको कारण पार्टी शहीद परिवारप्रति उदासिनता भएको, जति ध्यान दिनुपर्ने त्यति ध्यान दिन नसकेको, जनतालाई पनि अलि बेवास्ता भएको जस्तो भएको उनको भनाई छ ।
पार्टीले २०८४ सालमा एकल बहुमत हासिल गर्नको लागी समाजवादी क्रान्तिको रुपरेखा र मागचित्र स्पष्ट पारेको उनले बताए । २०८१ साल पुस २१ देखि २३ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तिको रुपरेखा, मागचित्रलाई प्रस्ट पारेको उनको भनाई छ ।
रूपान्तरण शुद्धीकरणका लागि पार्टीले विगतमा भएका कमी कमजोरीको आत्मासमीक्षा गरेर अगाडी बढेको उनले बताए । दर्शन, विचार, दृष्टिकोण, रणनीति, कार्यनीति, कार्ययोजना, योजना, कार्यक्रम लागू गर्ने सङ्कल्पका साथ पार्टीले केही समय अघि हुलाकीमार्ग केन्द्रित अभियान चलाएको उनले जानकारी दिए ।
उक्त अभियान आफूहरू जनताको भित्री तहसम्म पुगेर उनीहरूको समस्याका बारेमा अध्ययन गर्ने मौका मिलेको बताए । महेन्द्रनगरबाट पोखरासम्म मध्यपहाडी लोकमार्ग अभियानले पार्टीको जनसम्बन्धलाई झनै सुदृढीकरण बनाएको उनको दाबी छ ।
उनले स्ववियु निर्वाचन, नेपाल पत्रकार महासंघ, २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनको नतिजा प्रस्तुत गर्दै पार्टीले एकल बहुमत ल्याउने बताए । कांग्रेस एमाले जस्ता ठुला दल मिल्दा पनि स्ववियु, पत्रकार महासंघ र अन्य संघसंगठको निर्वाचनमा पार्टीले उत्कृष्ट नतिजा हासिल गरेको उनको भनाई छ ।
माओवादी पार्टीले जनताको मुद्दालाई फेरि पक्रन थालेकोले पनि जनताले अग्रगमनलाई रोज्ने हुँदा माओवादीलाई नै रोज्ने उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ साउन २०८२, १६ : ३१
लेखकबाट थप