Safal Khabar - वित्तीय संस्थाको बिग मर्जर : कर्मचारी समायोजनमा चुनौती
बिहिबार, ०५ मङि्सर २०७६ (Thursday, 21 November, 2019)
वित्तीय संस्थाको बिग मर्जर : कर्मचारी समायोजनमा चुनौती
बुधबार, ०८ साउन २०७६, १३ : १६
वित्तीय संस्थाको बिग मर्जर : कर्मचारी समायोजनमा चुनौती

पहिलो बैंकको रुपमा वि.स. १९९३ मा स्थापना भएको नेपाल बैंकसंगैको नेपाली बैंकिङ इतिहासमा २०४६ सालको आर्थिक उदारिकरणसंगै २०६६ सालसम्मको अवधिमा सैयौंको संख्यामा बैंक खुले । एक त नेपालको अर्थतन्त्र नै तरल अवस्थामा रहेका, दोस्रो केही विदेशी जौईन्ट भेन्चर बैंकबाहेक ब्यवस्थापनमा दख्खल भएको माथिल्लो तहको कर्मचारीको अभाव, राजनैतिक सामाजिक कारणले बिस्तारै बैंकिग उद्योगमा पनि समस्याहरु देखिन थाले । दिइसकेको लाईसेन्स खोसेर बैंक बन्द गराउने भन्ने हुँदैन । तसर्थ नेपाल राष्ट्र बैंकले नियन्त्रण बाहिर गइसकेको बैंकिग उद्योग सम्हाल्नको लागि वि.सं. २०६८ मा मर्जर तथा एक्युजिशन पोलिसी ल्यायो । जसको कारण हालसम्म १७२ ओटा संस्थाहरु मर्ज भई १२७ ओटामा घटेका छन् । यसरी वित्तीय संथाहरु घटेको अवस्थामा नेपाल राष्ट्र बैंकको मर्जर पोलिसी असफल भएको मान्न सकिँदैन । तथापी नेपाल राष्ट्र बैंकको लक्ष्य अनुरुप नभएको पक्कै हो । 
आर्थिक वर्ष २०७६÷०७७ को आर्थिक विधेयकमा नै ठूला बैंकहरुबीचको मर्जर (बिग मर्जर) को नीति लिएपछि नेपाली अर्थतन्त्रमा बिग मर्जरको चर्चा चुलिएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले हरेक मञ्चमा बिग मर्जरको बारेमा केही भनिरहेकै छन् भने सबै ‘क’ ‘ख’ र ‘ग’ वर्गका अध्यक्ष र कार्यकारी प्रमुखहरुलाई बिग मर्जरको लागि तयारी रहन र आफ्नो लागि योग्य जोडी खोज्ने समयसीमा समेत दिइसकेको अवस्थामा चालु अर्थिक वर्ष मर्जरमय हुने आंकलन गरिएको छ । तथापी हालसम्म मौद्रिक नीति नआईसकेकोले मर्जरको विषयमा ठोस नीति के हुने भन्ने कुरा पर्खाईको विषय बनेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुबीचको मर्जर भर्टिकल नभई होरिजेन्टल मर्जर हो । नेपालका सम्पुर्ण बैंकहरु बैंक तथा वित्तीय संस्था ऐन तथा नेपाल राष्ट्र बैंकको सुपरिवेक्षणमा संचालनमा रहने कारणले गर्दा सबै संस्थाहरुको संगठनात्मक सस्ंकृति समान हुने हुनाले प्राविधिकबाहेक कर्मचारी समस्या आउँदैन भन्ने हल्का टिकाटिप्पणी पनि सुन्ने गरिन्छ । तर बास्तविकता के हो भने बैंक तथा वित्तीय संस्थाहरुमा पनि मर्जरको महत्वपुर्ण पक्ष भनेको कर्मचारी समायोजन नै हो । प्राविधिक विषय यही मानव संसाधनले मिलाउने भएकोले सबैभन्दा ध्यान पु¥याउनु पर्ने विषय भनेको कर्मचारी समायोजन हो ।
नेपालमा हालसम्म १७२ ओटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर भई १२७ नयाँ संस्थाहरुको जन्म भइसकेको छ । यसमा केही सानातिनाबाहेक कुनै पनि नयाँ संस्थाहरुमा कर्मचारी समायोजनबाट ठूलो समस्या आएको देखिँदैन । तर वास्तविकता के छ भने यो पहिलाका २०/३० ओटा संस्थाहरु मर्ज गरेकोभन्दा अब प्रस्ताव गरिएको मर्जर ठूलो हुन्छ । हिजो ५० ओटा शाखा भएको बैंकलाई सबैभन्दा ठूलो बैक भनेर प्रचारप्रसार गरिन्थ्यो तर आज एउटै संस्थाको २ सय ५० वटाभन्दा बढी शाखा संजाल छन् । हिजोका मर्जरहरुमा सम्मिलित हुने संस्थामा दशदेखि तीन सयसम्म कर्मचारी थिए भने हाल एउटै संस्थाका हजारभन्दा बढी कर्मचारी छन् । त्यही भएर हिजोभन्दा आजको परिस्थिति फरक छ । नेपाल राष्ट्र बैंक, नेपाल सरकार, मर्जरमा सहभागी सम्बन्धित बैंक तथा वित्तीय संस्थाले यो विषयमा विशेष ध्यान पु¥याउन आवश्यक छ ।
संस्थाहरु मर्जर हुँदा को पहिलो देखिने समस्या भनेको प्रमुख कार्यकारी एउटामात्र हुने हुँदा एक जना कि तल्लो तहमा बस्नु प¥यो कि संस्था छोड्नु प¥यो । दोस्रो केन्द्रीय कार्यालयको विभिन्न विभागहरुका विभागीय प्रमुखहरु पनि एकएक जना रहने हुनाले कर्पोरेट पोजिशन समान भए पनि फंक्सनल पोजिशन एक जनाले छोड्नु पर्ने हुन्छ । नेपालको हालको मर्जरमा यतिसम्मको विषयमा मर्जर कमिटिले विषय उठान गरेको पाइन्छ । तर मर्जर तथा एक्युजिशनपछि मध्यम तथा तल्लो तहका कर्मचारीको मनोविज्ञान अध्ययन गर्र्ने हो भने मर्जपछिको नयाँ संस्थामा मर्जर तथा एक्युजिशन भएर जाने संस्थाका कर्मचारीहरुले अपनत्व ग्रहण गर्दैनन् । उनीहरुलाई त्यो नयाँ संस्था आफ्नो जस्तो लाग्दैन । 
नेपाल राष्ट्र बैंकको मर्जर तथा एक्युजिशन पोलिसीले कर्मचारीहरुको खाईपाई आएको सेवासुविधा घटाउन नपाउने भनिएको छ तर यसलाई आफू अनुकुल ब्याख्या गरी कतिपय बैंक तथा वित्तीय संस्थाहरुले लिइरहेको सेवासुविधा घटाएको प्रशस्त उदारहण छन् । एउटा संस्थामा काम गरिरहेको कर्मचारीले कर्मचारी सुविधा अन्तर्गत चारपांग्रे गाडी सुविधा पाइरहेको थियो, अब नयाँ संथामा मर्ज हँुदा उसको पद घट्न गई वा समान पदमा रहँदा समेत गाडीको सुविधा काटिँदा नयाँ संस्थामा त्यो कर्मचारीको कस्तो योगदान रहला ? अघिल्लो दिनसम्म कारमा कार्यलय जाने कर्मचारी मर्जरपछिको भोलिपल्ट मोटरसाईकलमा कार्यलय जाँदा समाजमा उसको हैसियत के रहन्छ ? मर्जरपछिको संस्थालाई यो कुरा सामान्य लाग्न सक्छ तर यस्ता साना विषयले नै भविष्यमा गम्भीर नतिजा ल्याउन सक्छ ।
हरेक कर्मचारीको उत्प्रेरक तत्व फरकफरक हुन्छ । कुनै कर्मचारी तलबभत्ता बढ्दा उत्प्रेरित हुन्छ भने कुनै कर्मचारी पदप्रतिष्ठा पाउँदा उत्पेरित हुन्छ । विशेषगरी ‘ख’ र ‘ग’ वर्गका बैंकहरु ‘क’ वर्गमा एक्युजिशन भएर जाँदा ठूला कम्पनीका साना तहका कर्मचारीहरुले समेत नयाँ आउने ठूला कर्मचारीहरुलाई सम्मान दिएको पाईंदैन । यसले पनि कर्मचारीलाई मनोबैज्ञानिक असर गरिरहेको हुन्छ । तसर्थ साना संस्थाहरु एक्वाएर गरेर ल्याउने संस्थाहरुले पनि नयाँ संस्थाका कर्मचारीहरुलाई कसरी ब्यवहार गर्ने भन्ने सिकाउन आवश्यक छ । ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले ‘ख’ र ‘ग’ वर्गका कर्मचारीहरुले बैंक नै बुझेका हँुदैनन् भन्ने भावना हटाउन आवश्यक छ ।
मर्जरका मानवीय साथै प्राविधिक र भौतिक कुराहरुको समायोजन पनि महत्वपूर्ण कुरा हुन्छ तथापि सम्बन्धित पक्षले बुझ्नु पर्ने आवश्यक कुरा के हो भने प्राविधिक र भौतिक कुराहरुको समायोजन गर्ने पनि मानव संसाधन नै हो । स्टेफनिय सुगरले आफ्नो एक आलेखमा मर्जर तथा एक्युजिशनमा संस्थाहरुले गर्ने पाँच महत्वपुर्ण गल्तीहरु उल्लेख गरेका छन् । उनका अनुसार पहिलो मर्जर तथा एक्युजिशनमा कर्मचारीहरुलाई संलग्न गराइँदैन । दोस्रो कर्मचारीहरुको आवश्यकता र चासोहरुको वास्ता गरिँदैन । तेस्रो उनीहरुलाई आफ्नो भविष्यको हाकिमको बारेमा केही बताईंदैन । चौथो मर्जर तथा एक्युजिशन भएर आउने संस्थाको बारेमा यथेष्ट जानकारी लिईंदैन । पाँचौं मर्जर तथा एक्युजिशनको लागि आवश्यक समय तथा प्रक्रियामा ध्यान दिईदैन । यहि पाँच गल्तीकै कारण ९० प्रतिशत मर्जरले सोचेको जस्तो सिनर्जी पाउन सक्दैन ।
नेपालमा अब हुन गइरहेको मर्जर तथा एक्युजिशनमा के हामीले माथिको पाँच गल्ती गरेका त छैनौँ ? यो विषयमा सम्बन्धित पक्ष संवेदनशील हुन आवश्यक छ । सकेसम्म र सम्भव भएसम्म मर्जर तथा एक्युजिशन प्रक्रियमामा कर्मचारीहरुलाई कुनै विधिमार्फत संलग्न गराउन आवश्यक छ । आफू सहभागी प्रक्रियामा उनीहरुले अपनत्व ग्रहण गर्न सहज हुन्छ । नेपालमा पनि केही वर्षदेखि भएको मर्जर तथा एक्युजिशन र त्यसमा मानव संसाधानको प्रभावको बारेमा केही अनुसन्धानहरु भएका छन् । त्यस्ता अनुसन्धानका नतिजाहरुलाई समेत उचित ध्यान दिई गरिने मर्जरले सिनर्जी प्रदान पक्कै गर्नेछ । अन्यथा अमेरिकामा सन् २००५ मा भएको स्पिरिट तथा ३८ विलियन अमेरिकी डरलको नेस्टेल कम्युनिकेशन कम्पनीको एक्युजिशन जस्तै मानव संसाधनकै कारण मर्जर असफल हँदैन भन्ने आधार छैन ।

बिरोध अधिकारी
बिरोध अधिकारी सफल खबरका लागि आर्थिक विषयमा कलम चलाउँछन्

प्रतिक्रिया दिनुहोस