चुनावी मैदानमा प्रम देउवा र पाँच पूर्वप्रधानमन्त्री: कसको अवस्था के छ ?

मंगलबार, २८ कार्तिक २०७४, ०९ : ०३
चुनावी मैदानमा प्रम देउवा र पाँच पूर्वप्रधानमन्त्री: कसको अवस्था के छ ?

आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा र पाँच जना पूर्वप्रधानमन्त्री प्रतिस्पर्धामा हुनुहुन्छ ।  निरन्तर राजनीतिमा सक्रिय पूर्वप्रधानमन्त्री केही आफ्नै पूर्ववत् निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ भने केहीले नयाँ क्षेत्र रोज्नुभएको छ ।  यसअघिका चुनावी परिणाम र हालैको स्थानीय निर्वाचनको मत परिणामले पूर्वप्रधानमन्त्रीहरूको ‘सेफ’ र ‘डेन्जर जोन’ भने मिश्रित छ ।

प्रधानमन्त्री देउवा आफ्नो नियमित निर्वाचन क्षेत्र डडेलधुराबाट चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।  देउवासँग वाम गठबन्धनका तर्फबाट (माओवादी केन्द्र)का उम्मेदवार खगराज भट्ट तेस्रोपटक चुनावी मैदानमा हुनुहुन्छ ।  भट्ट २०६४ र २०७० को संविधानसभा निर्वाचनमा देउवासँग पराजित हुनुभएको थियो ।  दोस्रो संविधानसभा २०७० को मतान्तर ११ हजारभन्दा बढी थियो ।  

तर, हालैको स्थानीय निर्वाचनको नतिजाअनुसार देउवालाई सजिलो नभएको पनि आकलन गरिँदै  छ ।  यसपटक वाम गठबन्धन एकै ठाउँमा रहेका कारण प्रधानमन्त्री देउवाका लागि चुनावी परिणाम यसअघिको जस्तो सहज नदेखिएको हो ।  अङ्क गणितका हिसाबले स्थानीय निर्वाचनमा वाम दल काँग्रेसभन्दा आठ हजार मतले अघि छन् ।  

अहिलेसम्मका पाँचवटा संसदीय निर्वाचनमा अविजित देउवा अङ्क गणितमा योपटक ‘डेन्जर जोन’मा देखिनुहुन्छ ।  भट्टलाई दुई पटकको हारपछि जित हासिल गर्ने अवसर पनि छ ।  डडेलधुरामा प्रतिनिधिसभामा छ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।    

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल काठमाडौँ–२ बाट प्रतिस्पर्धामा हुनुहुन्छ ।  नेता नेपालको मुख्य प्रतिस्पर्धी काँग्रेसका दीपक कुइँकेल हुनुहुन्छ ।  दोस्रो संविधानसभा उपनिर्वाचनमा पाँच हजारभन्दा बढी मतले कुइँकेल यही क्षेत्रबाट निर्वाचित हुनुभएको हो ।  संविधानसभा सदस्यमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित नेता नेपालले उक्त क्षेत्र छाड्नुभएको थियो ।

पहिलो संविधानसभा (२०६४) मा दुई क्षेत्रबाट अनपेक्षित हार बेहोर्नुभएका नेता नेपाल २०७० को निर्वाचनमा रौतहट–१ र काठमाडौँ–२ बाट निर्वाचित हुनुभएको थियो ।  दुई क्षेत्रबाट निर्वाचित नेपालले कानुनी व्यवस्थाअनुसार काठमाडौँ–२ छाड्नुभएको   थियो ।  उक्त स्थानमा भएको उपनिर्वाचनमा काँग्रेसका कुइँकेल विजयी हुनुभएको थियो ।  स्थानीय तहको अङ्क गणित र २०७० मा आठ हजारभन्दा बढीको मतान्तर नेपालको पक्षमा भए पनि निर्वाचित क्षेत्र छोड्नुले नेपालमाथि मतदाताले प्रश्न उठाएका छन् ।  काठमाडौँ–२ मा प्रतिनिधिसभाका लागि २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।  

पूर्वप्रधानमन्त्री झलनाथ खनाल वि.सं. २०६४ र २०७० को संविधानसभा सदस्य निर्वाचनमा इलाम–१ बाट निर्वाचित हुनुभएको थियो ।  योपटक पनि खनाल त्यही क्षेत्रबाट प्रतिस्पर्धामा हुनुहुन्छ ।  खनालका मुख्य प्रतिस्पर्धी काँग्रेसका भूपेन्द्र कट्टेल हुनुुहुन्छ ।  लगातार दुईपटक सोही क्षेत्रबाट निर्वाचित खनाल ह्याट्रिकको दौडमा हुनुहुन्छ भने कट्टेल पहिलो जितको दौडमा हुनुहुन्छ ।  यसअघिको मतपरिणाम र स्थानीय तहको नतिजा भने खनालको पक्षमा छ ।  प्रतिनिधिसभामा त्यस क्षेत्रबाट आठ जना प्रतिस्पर्धी हुनुहुन्छ ।   

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०६४ को संविधानसभा सदस्य निर्वाचनमा झापा–७ बाट तत्कालीन एमाओवादीका युवानेता विश्वदीप लिङ्देनसँग पराजय बेहोर्नुभएको थियो ।  २०७० को निर्वाचनमा भने ओली विजयी हुनुभयो ।  

तुलनात्मक रूपमा ओली सुरक्षित निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा हुनुहुन्छ ।  ओलीका मुख्य प्रतिस्पर्धीमा काँग्रेसका डा. खगेन्द्र अधिकारी हुनुहुन्छ ।  शिक्षण पेसामा संलग्न अधिकारी उम्मेदवार बन्न त्रिभुवन विश्वविद्यालयको जागिर छाडेर झापा पुग्नुभएको  हो ।  झापा–५ बाट प्रतिनिधिसभामा ओलीसहित १४ प्रतिस्पर्धी हुनुहुन्छ ।  
जन्मथलो चितवनमा पहिलोपटक उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसामु कडा चुनौती छ ।  काँग्रेसको बलियो क्षेत्र मानिएको चितवन–३ मा काँग्रेसकै समर्थनमा उम्मेदवार बन्नुभएका राप्रपा (प्रजातान्त्रिक)का विक्रम पाण्डे प्रचण्डका लागि चुनौती हुनुहुन्छ ।  

सशस्त्र सङ्घर्षपछिको पहिलो संविधानसभा सदस्य निर्वाचनमा प्रचण्ड रोल्पा–१ र काठमाडौँ–१० बाट निर्वाचित हुनुभएको थियो ।  दोस्रो संविधानसभामा रोल्पा छोड्नुभएका प्रचण्डलाई काठमाडौँका मतदाताले अस्वीकार गरे पनि सिरहा–५ का मतदाताले जनप्रतिनिधि चुने ।  योपटक प्रचण्ड पुरानो निर्वाचित क्षेत्र सिरहा पनि छोडेर जन्मथलो चितवन पुग्नुभएको छ ।  एमालेको सहयोगमा उम्मेदवार बन्नुभएका प्रचण्डलाई लोकतान्त्रिक गठबन्धनको चुनौती कमजोर नहुँदा ‘डेन्जर जोन’का रूपमा हेरिएको छ ।

शान्तिपूर्ण राजनीतिमा रूपान्तरण भएपछि पहिलोपटक गोरखा–२ का मतदाताले डा. बाबुराम भट्टराईलाई दुई तिहाइ मत दिएका थिए ।  गोर्खाली जनताको मतमा भट्टराई अर्थमन्त्री हुँदै प्रधानमन्त्री बन्नुभयो ।  दोस्रो संविधानसभा निर्वाचनमा उहाँले दुई क्षेत्र रोज्नुभयो ।  रूपन्देही–४ का मतदाताले पराजित गर्दा उहाँ गोरखाबाट पुनः बहुमत मतका साथ विजयी हुनुभयो ।   

संविधान जारीपछि भट्टराईले राजनीतिक दिशा परिवर्तन गर्दैै संसद्बाट पनि बाहिर आएपछि नयाँ दल गठन गर्नुभयो ।  अहिले उहाँ नयाँ शक्ति पार्टीका नामबाट पुनः गोर्खाली जनताको घरदैलोमा हुनुहुन्छ ।  भट्टराईको प्रतिस्पर्धीमा उहाँकै मूल पार्टीका नेता नारायणकाजी श्रेष्ठ हुनुहुन्छ ।  

भट्टराईका लागि श्रेष्ठ कडा चुनौती हुनुहुन्छ ।  एमालेको सहयोगमा उम्मेदवार बन्नुभएका श्रेष्ठ पछिल्लो अङ्क गणितमा केही अघि हुनुहुन्छ ।  भट्टराईलाई काँग्रेसको बलियो साथ छ ।  पहिलो चरणमा निर्वाचन हुने ३७ क्षेत्रमध्ये अत्यन्तै रोचक निर्वाचन क्षेत्रका रूपमा गोरखा–२ लाई हेरिएको छ । , यो खबर आजकोगोरखापत्रमा छ ।

प्रतिक्रिया दिनुहोस