कालीगण्डकी चोकहुँदै नवलपुरका पहाडी क्षेत्र चल्ने जिपको मनोमानी

जिप छुट्ने निश्चित समय निर्धारण गरिदिन प्रशासनलाई यात्रुहरुको आग्रह

सफल खबर संवाददाता

शुक्रबार, ०३ साउन २०७६, १७ : २६
कालीगण्डकी चोकहुँदै नवलपुरका पहाडी क्षेत्र चल्ने जिपको मनोमानी

नवलपुर । गैँडाकोटको कालीगण्डकी चोकबाट ढोडेनी जाने जिपले मनलाग्दी गर्न थालेपछि यात्रुहरु मारमा परेका छन् । दैनिक घण्टौँसम्म जिप कुरेर बस्नु पर्ने र जिप कतिखेर जान्छ भन्ने नै यकिन समय नहुँदा आफूहरु निकै समस्यामा पर्ने गरेको यात्रुहरु बताउँछन् । 
अझै बढी समस्या त यात्रुहरुले बर्षाकोे बेला भोग्नु परेको छ । यो बेला त झन् जिप कतिखेर जाने कतिखेर आउने नै निश्चित नहुँदा यात्रा निकै कष्टकर बनेको यात्रुहरु बताउँछन् । दैनिक एक दर्जनभन्दा बढी सवारी साधन गैँडाकोट कालीगण्डकी चोकबाट ढोडेनीहँुदै बुलिङ्टार थामबेसी कोटा लगायत क्षेत्रका यात्रु लिएर जाने गरेका छन् । तर जिप जाने निश्चित समय भने तोकिएको छैन ।
त्यहाँ लेकबेसी यातायात ब्यवसायी समितिमार्फत जिपहरु सञ्चालन भएका छन् । जिप सञ्चालकले आफनो अनुकुलतामा यात्रुले जिप भरिए जाने नभरिए चढेका यात्रु समेत झारेर अलपत्र पारी छाड्ने गरेको दुखेसो यात्रुहरु गर्छन् । जबसम्म जिप भरिँदैन, तबसम्म जिप नचल्दा यात्रुहरु घण्टौँसम्म जिप कुरेर बस्नु पर्ने बाध्यता छ । 
कालीगण्डकी चोकमा घण्टौँसम्म गाडी कुरेर बस्नु पर्ने बाध्यतामा आफूहरु रहेको यात्रु मोतीमाया पुलामीले बताउनु भयो । दिनहुँ यो समस्या भोग्न परेको बताउँदै उहाँले दैनिक १ दर्जन जिप चल्ने यो सडकमा अति आवश्यक र ईमरजेन्सी परेका बेला सवारी साधन पाउनै मुश्किल हुने गरेको बताउनु भयो । 
सवारी साधनको सञ्चालनका लागि निश्चित समय नतोकिएकोले अचानक बिरामी परे तत्कालै स्वास्थ्य उपचारका लागि अस्पताल जान पनि सवारी साधन नपाउने अवस्था रहेको स्थानीय बताउँछन् । गाडी सञ्चालक इन्द्र ज्योति पोखरेलले यात्रु भरिएपछि मात्रै गाडी चल्ने भएकोले ४–५ घण्टासम्म गाडी कुर्न पर्ने बताउनु हुन्छ । 
बर्खामा हिलो र हिउँदमा धुलो हुने उक्त सडकमा सवारी साधन चलाउन पनि असहज हुने भएकाले गाडी भरिएपछि मात्रै गाडी चलाउने गरेको उहाँले बताउनु भयो । गैँडाकोटदेखि ढोडेनीसम्मको दुरी करिब ९ किलोमिटरको हाराहारीमा रहेको छ । ढोडेनीकै लागिमात्रै ६ वटा जिप चल्ने गर्छन् । ती जिप चल्ने निश्चित समय नहँुदा ९ किलोमिटरको यात्रा गर्न दिनभर जिप कुर्नु पर्ने बाध्यतामा आफुहरु रहेको यात्रुहरु बताउँछन् ।
यो समस्या ढोडेनी जाँदामात्रै नभएर ढोडेनीबाट गंैडाकोट आउँदा पनि पर्ने गरेको स्थानीयको भनाई छ । उनीहरु बाटो मर्मतका लागि आफूहरुले पटकपटक नगरपालिका र वडा कार्यलयमा पहल गर्दा पनि सुनुवाई नभएको बताउँछन् । ढोडेनी चल्ने जिपको निश्चित समय तोकिदिएर त्यो समयमा अनिवार्य त्यहाँबाट छुट्ने ब्यवस्था मिलाएर गाउँवासीको समस्या समाधानमा ध्यान दिन स्थानीय प्रशासनसँग यात्रुहरुले आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस