आफैले बोकेको बम विस्फोटमा विप्लवका एक कार्यकर्ताको निधन

धनगढीमा एक कार्यकर्ताको निधन, अन्य ४ सर्वसाधारण घाइते

सफल खबर संवाददाता

शुक्रबार, ०३ साउन २०७६, ०७ : ४३
आफैले बोकेको बम विस्फोटमा विप्लवका एक कार्यकर्ताको निधन

काठमाडौं । आफैले बोकेको बम बिस्फोटमा नेत्रविक्रम चन्द (विप्लव) समुहका फेरि एक जना कार्यकर्ताको निधन भएको छ । धनगढीमा आफैले बोकेको बम हिजो साँझ विस्फोट भएको थियो । त्यसक्रममा रामबहादुर सिंहको निधन भएको प्रहरीले जनाएको हो ।

धनगढीको सहीद गेटस्थित नीलम होटलमा बम विस्फोट भएको थियो । त्यसक्रममा सिंह सहित ५ जना घाइते भएका थिए । निधन भएको सिंह सहित होटल सञ्चालक केशवराज पाण्डे, जितेन्द्र यादव, मोविन खान र लक्ष्यमण सेराली घाइते भएका थिए । होटलमा चिया पिउने क्रममा सिंहले झोलामा बोकेको टिफिन कन्टेनर च्यापिदा विस्फोट भएको थियो । उनको ढाड डडेको थियो ।

धनगढीस्थित माया मेटो अस्पतालमा उपचारका क्रममा गएराती सिंहको निधन भएको प्रहरीले जनाएको छ । उनको गएराती सवा ११ बजे निधन भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । उनको शव अहिले सेती अञ्चल अस्पतालमा राखिएको छ ।

विप्लव समुहले भने घटनामा आफ्नो पार्टीको संग्लनता नभएको दाबी गरेको छ । तर मृत्यु भएका सिंह विप्लवका कार्यकर्ता रहेको प्रहरीले बताएको छ । यस अगाडी काठमाडौंमा पनि विप्लव कार्यकर्ता आफैले बनाएको वम विस्फोटमा परी ५ जना कार्यकर्ताको निधन भएको थियो । यो घटनाको विप्लवको पार्टीले आन्तरिक रुपमा छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस