वाम गठबन्धन

वाम एकतामा अवरोध आएको संकेत

आइतबार, १४ माघ २०७४, १४ : ३३
वाम एकतामा अवरोध आएको संकेत

- एसपी पुष्कर
नेकपा माओवादी केन्द्रका अध्यक्ष, चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्य एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा माओवादी केन्द्रनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन चितवनको आठौं जिल्ला सम्मेलन उद्घाटन गर्न शनिबार भरतपुर आए । अरुबेलाभन्दा बढी गम्भीर देखिएका प्रचण्डले सम्बोधनका क्रममा राजनीतिलाई सम्भावनाको खेल भने । उनको यो अभिव्यक्ति डेढ महिनाअघि सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनले ल्याएको अभुतपूर्व सफलतापछि अड्किएको वाम एकताप्रति लक्षित हो भन्ने अनुमान गर्ने हो भने नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टीबीच हुने भनिएको पार्टी एकतामा अवरोध आएको हो कि भन्ने संकेतका रुपमा लिन सकिन्छ । दुई वाम पार्टीबीचको एकताबारे निकै आशावादी अभिव्यक्ति दिँदै आएका प्रचण्डको मुखबाट शनिबार भरतपुरमा सुनिएको राजनीति सम्भावनाको खेल भन्ने बोलीले वाम एकतामा अवरोधको संकेत गर्छ ।

पूर्वप्रधानमन्त्री प्रचण्डलाई परिस्थिति अनुसार तत्काल कदम चालिहाल्ने राजनीतिक व्यक्तित्वका रुपमा लिइन्छ । राजनीतिमा विकल्प र सम्भावनाको खोजी भइरहन्छ । यस अर्थमा यदि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता हुन सकेन भने वाम गठबन्धन पनि टुट्न सक्ने देखिन्छ । त्यस्तो अवस्थामा एकीकृत पार्टीको अध्यक्ष आफूले नपाएमा प्रचण्डले त्यसको दोष एमालेको टाउकोमा थोपर्दै नेपाली काँग्रेस र मधेशवादी दलसँग मिलेर पाँच वर्षको लागि आफू प्रधानमन्त्री हुने विकल्पमा जाने सम्भावनालाई नकार्न सकिँदैन । केन्द्रीय राजनीतिका खेलाडी प्रचण्डलाई परिस्थिति आफ्नो प्रतिकूल भयो भने त्यसलाई वैकल्पिक उपायबाट अनुकूल बनाउन आइतबार कुरिरहनु पर्दैन । विगतमा उनले कहिले एमाले त कहिले काँग्रेससँग मिलेर सरकारमा सहभागिता र चुनावमा गठबन्धन गरेर आफू अनुकूलको वातावरण बनाएकै हुन् । भविष्यमा पनि परिआएको खण्डमा उनले वैकल्पिक पाइला चाल्न सक्छन् ।


निर्वाचनमा वाम गठबन्धनले ऐतिहासिक सफलता पाएपछि गठबन्धनका एक प्रमुख नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नेपाली काँग्रेसबाट पाँच वर्षको लागि प्रधानमन्त्रीको अफर आएको थियो । तत्कालको लागि त्यसलाई प्रचण्डले अस्वीकार गरेपनि पार्टी एकता हुन नसके विकल्पको खोजी हुनसक्ने प्रचण्डको संकेतले त्यो अफर अझै असान्दर्भिक बनेको छैन भन्ने ठम्याउन सकिन्छ ।

शनिबार भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकता प्रक्रियालाई भाँड्ने प्रयास भइरहेको बताए । यस्तो प्रयास कसबाट भइरहेको छ भन्ने उनले खुलाउन चाहेनन् । वाम गठबन्धनलाई तोड्न वा पार्टी एकतालाई भाँड्न ठूलै ठाउँबाट ठूलै कसरत भइरहेको बताउने अध्यक्ष प्रचण्डले राष्ट्रको आवश्यकता भनेको कम्युनिष्टहरुको एकता नै भएकोमा जोड त दिएका छन्, तर पार्टी एकतालाई अवरुद्ध गर्न खोज्ने प्रवृत्ति मैले भोगेँ भनेर उनले पार्टी एकता सोचेजस्तो सहज बन्न नसकिरहेको पनि खुलासा गरेका छन् ।

पूर्वप्रधानमन्त्री प्रचण्डले नभनेपनि एमाले अध्यक्ष केपी शर्मा ओली भावी सरकारको प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भावी एकीकृत पार्टीको अध्यक्ष हुने गरी भागवण्डा मिलाउन नसकिएको वा कठिन भएको भन्नेतर्फ नै यो भनाइ लक्षित छ । त्यस्तो अवस्थामा आफूले सम्मानजनक स्थान पाउन नसके प्रचण्डले पार्टी एकतालाई थाँती राखेर काँग्रेस र मधेशवादी दलहरुको समर्थनमा ओलीको साटो आफै सरकार प्रमुख बन्ने विकल्पमा जान सक्छन् । एमाले र माओवादी केन्द्रबीच एकता हुने कुराले संसार तरंगित भएको बताउँदै आएका प्रचण्डले वाम एकताको कुराले एकथरी औधि खुशी भएको र अर्कोथरीलाई निन्द्रा लाग्न छाडेको अभिव्यक्ति सार्वजनिक गरेका छन् । प्रचण्डले वाम एकताका लागि आफू प्रतिवद्ध रहेको बताइरहँदा त्यो एकतामा उनको सम्मानजनक भूमिकाको खोजी पनि भइरहेको छ भन्ने बिर्सनु हुँदैन । पूर्वप्रधानमन्त्री प्रचण्डले नभनेपनि एमाले अध्यक्ष केपी शर्मा ओली भावी सरकारको प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भावी एकीकृत पार्टीको अध्यक्ष हुने गरी भागवण्डा नमिलेको खण्डमा वाम एकता भाँडिएर भावी प्रधानमन्त्री प्रचण्ड नै हुने सम्भावना बलियो देखिन्छ ।

प्रतिक्रिया दिनुहोस