घनश्याम भुषालसँग प्रधानमन्त्रीको ‘गुपचुप’ वार्ता !

६ वर्षपछि वालुवाटारमा प्रधानमन्त्री ओली र नेता भुषालबीच तीन घण्टा लामो छलफल

सफल खबर संवाददाता

शुक्रबार, २७ असार २०७६, ०८ : ३८
घनश्याम भुषालसँग प्रधानमन्त्रीको ‘गुपचुप’ वार्ता !

काठमाडौं । हुन त राजनीतिमा लागेका नेताहरुका बीच भेटघाट हुनु, कुराकानी हुनु नौलो होइन । अझ आफ्नै पार्टीका नेताहरुसँगको भेटघाट त सामान्य नै हुन् । तर पनि केही भेटघाट भने निक्कै अर्थपूर्ण हुन्छन र त्यसको कारणका विषयमा सञ्चारमाध्यमले खोजी गर्नुपर्ने हुन्छ ।

यस्तै एउटा भेटघाटको अहिले चर्चा छ, सत्तारुढ दल नेकपाभित्र । प्रधानमन्त्री केपी ओली र स्थायी समिति सदस्य घनश्याम भुषालका बीचमा गत शनिवार तीन घण्टा लामो गुपचुप वार्ता अहिले नेकपाभित्र चर्चामा छ ।

प्रधानमन्त्री ओलीका कटर आलोचक भुषाललाई प्रधानमन्त्री स्वंमले वालुवाटार बोलाई तीन–तीन घण्टा लामो भेटघाट र कुराकानी गरेका हुन् । यो भेटघाट यस अर्थमा पनि नेकपाभित्र चर्चामा आएको छ की, भेटमा भएका छलफलका विषयमा दुवै पक्षले औपचारिक मुख खोल्न चाहेका छैनन ।

तर भेटको पुष्टि भुषाल र उनी निकटले नगरेपनि प्रधानमन्त्रीको निजि सचिवालयले भने गरेको छ । ‘उहाँहरु (प्रधानमन्त्री र भुषाल)बीच तीन घण्टा लामो वान अन वान वार्ता भयो, त्यो पनि निक्कै हार्दिकतापूर्वक,’ प्रधानमन्त्री ओलीका एक सल्लाहकारले सफलखबरसँग भने,–‘पछिल्लो राजनीतक घटनाक्रम, पार्टीभित्रको बन्दै गएको राजनीतिक समिकरण र एक आपसमा दुई नेतालाई हेर्ने र बुझ्ने ब्यक्तिगत सम्बन्ध लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले घनश्यामजीलाई वालुवाटार निम्ताउनुभएको थियो ।’

खासमा प्रधानमन्त्री ओली र नेता भुषालबीच एकै पार्टीमा रहेपनि समान्य औपचारिक कार्यक्रममा देखभेट हुने, नमस्कार आदानप्रदान हुने गरेको भएपनि छुट्टै एक्लाएक्लै भेटवार्ता नै नभएको ६ वर्ष भएको थियो ।

६ वर्षपछि त्यो पनि प्रधानमन्त्रीकै विशेष आग्रहमा तीन घण्टा लामो यो छलफल भएपछि भने यो नेकपाभित्र चर्चाको विषय बन्न पुगेको हो ।

२०७० माघमा तत्कालिन एमाले संसदीय दलको निर्वाचन अगाडी मात्र यी दुई नेताका बीचमा यस्तै लामो सम्वाद भएको थियो । त्यसयता सम्वादमा यी दुबै नेता नरहेको बताइन्छ ।

शनिवारको छलफलपछि भने अब भेटघाट र सम्बन्धलाई टाढिदो नबनाई निरन्तर नजिक ल्याउने गरी भुषाल वालुवाटारबाट उठेका थिए । प्रधानमन्त्री स्वंमले आफ्नै तहबाट बेलाबेला भेटघाटलाई निम्ताईरहने भुषाललाई उठ्ने बेला बताईएको वालुवाटार स्रोतले बतायो ।

तीन घण्टा लामो छलफलमा के भयो ?

तीन घण्टा लामो यी दुई नेताको छलफल पार्टी राजनीतिमा केन्द्रीत रहेको स्रोतको भनाई छ । पार्टीभित्र पछिल्लो समय आफ्नै ब्यक्तिगत स्वभाव, कार्यशैली र गुटका कारण प्रधानमन्त्री ओली एक्लिदै जान थालेका छन् । न उनको सम्बन्ध पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई विश्वासमा लिन सक्ने खालको बन्न सकेको छ न वरिष्ठ नेता माधव नेपालसँग नै समधुर छ । ओलीकै कार्यशैलीले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल बीचको सम्बन्ध भने विकसित हुदै जान थालेको छ ।

नेकपाभित्र देखा परेका मुख्य तीन समुहका बीचको त्रिपक्षिय संर्घषमा दुई पक्ष एक ठाँउमा उभिए भने अर्काे पक्ष पार्टीमा निक्कै कमजोर बन्ने देखिन्छ । पछिल्लो चरण प्रचण्ड र नेपाल एकातिर र ओली एक्लै एकातिर देखिन पुगेका छन् ।

त्यो पनि राजनीतिक र सांगठनिक दुबै विषयमा देखिन थालेको मतभेदलाई लिएर । सरकारको आलोचनाको विषय त्यसमाथी छदैछन् । राजनीतिक वैचारिक क्षेत्रमा प्रख्खर नेता भुषालसँग ओलीले माओवादीसँगको एकीकरण पछिको वैचारिक राजनीतिक वहस अब प्रारम्भ हुने र त्यसका लागि शसक्त वैचारिक धार निर्माण गर्न पर्ने भन्दै भुषाललाई वालुवाटार निम्ताईएको स्रोतको जिकिर छ ।

ओलीले त्यसका लागि आफु नजिक रहेर भुषाललाई वैचारिक वहस आरम्भ गर्न र नेताहरु झलनाथ खनाल र माधव नेपाललाई पनि आफुहरुसँगै मिलेर जानका लागि मध्यस्थताका लागि भूमिका खेल्न भुषाललाई वालुवाटार बोलाएर आग्रह गरेको बुझिएको छ ।

तर भुषालले भने प्रधानमन्त्री ओलीको त्यस्तो आग्रहमा कुनै प्रतिक्रिया दिएका छैनन । झण्डै एक घण्टा त भुषालले ओलीका कुरा मात्र सुनेका थिए । त्यसपछि मात्र दुई नेताका बीचमा अन्र्तक्रियात्मक छलफल भएको भुषालले आफु निकट लाई बताएका छन् । तर यो भेटघाटपछि नेकपाभित्रको राजनीतिक परिघटनाका विषयमा भने अहिले नै ठम्याई हाल्न सक्ने अवस्था बनिसकेको भने छैन ।

 

प्रतिक्रिया दिनुहोस