विप्लव र सरकार बीच ‘भित्रभित्रै’ वार्ताको तयारी !

बाहिर मुठभेड देखिएपनि भित्रभित्रै भने सरकार र विप्लवका नेता–कार्यकर्ता वार्ताको तयारीमा

सफल खबर संवाददाता

विहीबार, २६ असार २०७६, ०७ : १४
विप्लव र सरकार बीच ‘भित्रभित्रै’ वार्ताको तयारी !

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा बीच भित्रभित्रै वार्ताको पहल शुरु भएको छ । बाहिर देखिँदा दुई पक्षबीच भीडन्त हुने, मान्छे मारिने, आरोप –प्रत्यारोपमा कडा अभिब्यक्ति र वक्तब्य दिने काम भएपनि भित्रभित्रै भने वार्ताको पहलकदमी भईरहेको खुलेको छ ।

वार्ताकै तयारीका क्रममा सरकारले विप्लव नेतृत्वका केन्द्रीय सदस्यहरुलाई अदालतको आदेशसँगै विगतमा जस्तो पूनः प्रक्राउ नगरी रिहा गरिदिन थालेको छ । वार्ताको वातावरण निर्माणकै लागि तत्कालिन माओवादीमा रहेका सत्तारुढ दल नेकपाका केही प्रभावशाली नेताले विप्लवका शीर्ष तहका नेताहरुलाई नै भेटेर पहलकदमी अगाडी बढाएको स्रोतले बतायो ।

नेताहरु जर्नादन शर्मा लगायतले वार्ताको वातावरण निर्माणका लागि पहल लिईरहेका छन् । शर्माले विप्लवका पार्टीको नेताहरुलाई भेट गरी वार्ताको वातावरण निर्माणका लागि उनीहरुका शर्त र सरकारले अवलम्वन गर्नुपर्ने रणनीतिका विषयमा सरकार र विप्लव दुवैका नेताका धारणा बुझ्ने प्रयास गरेका थिए ।

हिजो वुधबार बिहान मात्रै ओखलढुंगा विप्लवका जिल्ला सेक्रेटरी निरकुमार राई (प्रशान्त)को भोजपुरमा हत्या भएको छ । प्रहरी जवान सन्जिव राईको पनि घटनामा परी मृत्यु भएको छ ।  केन्द्रीय तहमा भईरहेको वार्ताको पहलकदमीका विषयमा तल्लो तहका पार्टी कार्यकर्ता र सुरक्षा निकायका बिचमा सर्कुलर नभएकाले पनि तल्लो तहमा भीडन्तको अवस्था आएको बताईएको छ ।

विप्लवका नेताहरुले वार्ताका लागि सरकारले आफ्ना पक्राउ परेका नेता कार्यकर्तालाई पहिले छोड्नुपर्ने शर्त अगाडी सारेको छ । सरकारले त्यही विप्लव पार्टीको शर्तकै आधारमा पक्राउ परेका केन्द्रीय नेताहरुलाई अदालतले रिहा गरेसँगै पूनः पक्राउ नगरी छोडिदिने रणनीति अवलम्वन गरेको छ । अदालतले रिहा आदेश नदिएकालाई मात्र नछोड्ने तर अदालतले छोड भनेकालाई छोड्दै वार्ताको वातावरण बनाउने योजनामा सरकार लागेको छ । त्यही क्रममा चुडामणी वली (आर्दश) र चन्द्रबहादुर खड्का (असल) धरानबाट केही दिन अगाडी मात्रै रिहा भएका छन् । पोलिटब्यूरो सदस्य मोहन कार्कीलाई पनि रिहा गर्ने तयारीमा सरकार रहेको छ । उच्च सरकारी स्रोतका अनुसार, सम्भवत कार्कीलाई पनि आइतबारसम्ममा छोड्ने तयारीमा सरकार छ ।

त्यसो त विप्लवलाई वार्ताका लागि पार्टीभित्रैबाट पनि चर्काे दबाब परेपछि उनी वार्ताका लागि लचिलो बन्न खोजेका हुन् । प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) समुहले विप्लवलाई वार्ताका लागि दबाब दिईरहेका छन् । चन्द पार्टीमा उनको र प्रवक्ता विश्वकर्माको दुई गुट छन् । प्रवक्ता विश्वकर्माको गुट उक्त पार्टीमा प्रभावी देखिदै आएको छ ।

प्रकाण्डले आफु निकट नेता कार्यकर्तासँगको भेटमा छिट्टै सरकारसँग वार्ताको तयारी भईरहेको बताउने गरेका छन् । उनले साउन पहिलो सातासम्ममा केही न केही प्रगतिको समाचार आईसक्ने सम्भावना बढेर गएको बताउन थालेका छन् ।

पार्टीभित्रैबाट दबाब बढेपछि पछिल्लो पार्टी बैठकमा पनि सरकारसँग वार्ताका विषयमा विप्लवले छलफल गरेका थिए । विप्लवले सरकारसँग वार्ताको विपक्षमा नरहेको तर वार्ताको वातावरण बनाउने र वार्तावाट आफना मागको सुनुवाई हुनुपर्ने ग्यारेन्टीका विषयमा केही ठोस प्रगति नभई वार्तामा बस्नुको अर्थ नहुनेमा जोड गरेका थिए । तर एकपटक पार्टी धारणा वार्ताको टेबुलबाट राख्नुपर्ने विषयमा दबाब बढेपछि वातावरण बने वार्तामा बस्न तयार हुने निष्र्कषमा विप्लव नेकपा पुगेको हो ।

त्यसैका लागि सरकारले सिधै पक्राउ परेका नेता कार्यकर्ता छोड्ने भन्दा पनि प्रक्रिया पु¥याएर अदालतबाट छोड्ने गदै आईरहेको छ । यस अगाडी पनि सरकारले सोमप्रसाद पाण्डेको नेतृत्वको वार्ता टोली बनाउँदा समेत त्यही रणनीति अपनाएको थियो । त्यही क्रममा प्रक्राउ परेका विप्लव पार्टीका प्रवक्ता प्रकाण्ड लगायतका नेताहरु रिहा भएका थिए ।  विप्लवका स्थायी समिति सदस्य हेमन्तप्रकाश वली (सुर्दशन) लगायतका झण्डै आधा दर्जन बढी केन्द्रीय नेताहरु अहिले पनि प्रहरी नियन्त्रणमा छन् ।

जसमध्ये चुडामणी वली (आर्दश), चन्द्रबहादुर खड्का (असल) लगायतका नेताहरु भने रिहा भईसकेका हुन् । अझै पनि सुर्दशन सहित, जीवन्त, रणवीर, वन्धु चन्द, वसन्त श्रेष्ठ लगायतका नेता कार्यकर्ताहरु प्रहरी नियन्त्रणमै छन् ।

प्रतिक्रिया दिनुहोस