Safal Khabar - हामीले प्राप्त गरेको सत्ता होइन, सरकारमात्र हो
बुधबार, ०१ असोज २०७६ (Wednesday, 18 September, 2019)
हामीले प्राप्त गरेको सत्ता होइन, सरकारमात्र हो
मङ्गलबार, २४ असार २०७६, १४ : २१
हामीले प्राप्त गरेको सत्ता होइन, सरकारमात्र हो

- रामदीप आचार्य

पुँजीवादी साम्राज्यवाद र सामन्तवादी आँखाबाट हेर्दा यो सरकार कम्युनिस्टजस्तो देखिन्छ । कम्युनिस्टका आँखाबाट हेर्दा पुँजीवादी जस्तो । पुँजीवादी जनवादी क्रान्तिका बाँकी काम पूरा गर्नुपर्ने भएकाले यो पुँजीवादीजस्तो देखिनु स्वाभाविक छ । समाजवादको आधार तय गरी वैज्ञानिक समाजवादतर्फ अघि बढ्ने लक्ष्य बोकेकाले कम्युनिस्टजस्तो देखिएको हुन सक्छ । यहाँ विहंगम विषयभन्दा पनि समाजवादको आधार कसरी तयार पार्न सकिन्छ भन्ने सवालमा मात्रै केन्द्रित भएर छलफल गरिनेछ ।

हामीले प्राप्त गरेको सत्ता होइन, सरकारमात्र हो । सत्ता भनेको समग्र हो भने सरकार त्यसको अंश । सत्ताभित्र सरकार, न्यायालय, सेना, प्रहरी, कर्मचारीतन्त्र आदि पर्छन् । त्यसको एउटा पाटो हो सरकार । सत्ता भनेको वर्गको प्रतिनिधि हो भने सरकार त्यसको सेवा गर्ने साधन । अहिलेको मूल अन्तर्विरोध यो हो कि सत्ता पुरातन छ । सरकारको काँधमा नयाँ जिम्मेवारी छ । या त सरकारले सिंगो सत्तालाई नयाँ संरचनामा रुपान्तरण गर्नुपर्छ या त आफूलाई पनि पुरानै संरचनामा ढाल्नुपर्छ । सत्ता र सरकारको अन्तर्विरोधलाई हल नगरी हामी गुणात्मक नयाँ परिणाम दिन सक्दैनौं । सत्ताका अन्य अंगहरूको समयानुकुल रुपान्तरण आजको आवश्यकता हो ।

nic asia
Yeti Diistillery

समाजवाद भनेको मार्ग हो । मानव जातिको पूर्ण विकास हाम्रो लक्ष्य हो भनेर माइकल लिविट्जले भनेको सही छ । मान्छेले निरन्तर दुःख हटाउने उपायको खोजीमा हजारौं वर्ष व्यतीत गरेको छ । प्रकृतिसँगको संघर्षमा र मान्छे आफैंभित्रको संघर्षमा आरोह र अवरोहबाटै अगाडि बढेको छ । जसरी प्रकृतिका ठूला–ठूला रहस्यका पर्दा उघ्रिँदै आएका छन् त्यसरी नै मान्छेले मान्छेमाथि गर्ने शोषण, ज्यादती र दमनका पर्दा खोल्दै यहाँसम्म आइपुगेको छ । प्रकृतिका रहस्यको पर्दा विभिन्न वैज्ञानिकले उघारेजस्तै समाजभित्रका रहस्यको पर्दा वैज्ञानिक तथ्य र तर्कको सहारामा कार्ल माक्र्सले उघारे । आदिम कालदेखि आजसम्मको समाज व्यवस्थाको समग्र रेखांकन गरेर । ऐतिहासिक भौतिकवादको जगमा उभिएर । मानव समाज एक दिन त्यो ठाउँमा पुग्नेछ जहाँ हरेकको स्वतन्त्र विकास सबैको स्वतन्त्र विकासको सर्त हुनेछ भन्ने निष्कर्षसहित ।

अब हामी यो निष्कर्षमा पुग्न सक्छौं कि समाजवाद एक संक्रमणकालीन राज्य व्यवस्था हो । पुँजीवाद शोषण, दमन र वर्गीय वैरभावको कारण नासवान छ । त्यसको ठाउँ समाजवादले लिनेछ । यो वैज्ञानिक निष्कर्ष हो । हरेक अघिल्लो व्यवस्था पछिल्लोभन्दा निष्कृष्ट हुन्छ भने पछिल्लो व्यवस्था अघिल्लोभन्दा उत्कृष्ट । यो समाज विकासको अर्को अकाट्य तथ्य हो । समाजवादले पुँजीवादको ठाउँ लिनेछ । यो अपरिहार्य छ । समाजवादका रूपमा हामी त्यस्तो व्यवस्था स्थापना गर्न चाहन्छौं जहाँ पहिलेका व्यवस्थाले शोषणको एक रूपको ठाउँमा अर्को मात्रै फेरेका थिए बरु समाजवादले शोषण र विभेदका सबै रुपको अन्त्य गर्ने दिशामा पाइला चाल्नेछ । हामी त्यस्तो राज्य व्यवस्था स्थापना गर्न चाहन्छौं जुन व्यवस्थाले आफ्नो औचित्य गुमाउनेछ र राज्यै नरहने अवस्थाको सिर्जना गर्नेछ । राज्यको विघटन गरिनेछैन । राज्य लोप हुनेछ । त्यही हो साम्यवाद । सुरुमा एउटा वर्गका रूपमा राज्यको जिम्मेवारी वहन गर्ने र पछि राज्यको विलोपीकरणको दिशामा बढ्ने समाजवादको दोहोरो कार्यभार यही हो । हामीलाई त्यस्तो समाजवाद चाहिएको हो न कि पुँजीवादको सेवामा समर्पित तर समाजवादको बर्को ओढेको ।

समाजवादभन्दा अगाडिका सबै समाज व्यवस्था स्वस्फूर्त रूपमा स्थापना भएका हुन् । तर, समाजवादलाई योजनाबद्ध रूपमा निर्माण गर्नुपर्छ । त्यही योजनाबद्ध रूपमा निर्माण गर्नुपर्ने भएकाले नै हामीलाई कम्युनिस्ट पार्टी चाहिएको हो । त्यो पार्टी हाम्रो योजनाबद्धताको सिद्धान्तद्वारा ओतप्रोत भएको होस्, जसका नेताकार्यकर्तामा समाजवाद स्थापना गर्ने दृढता मात्रै होइन, सही र वैज्ञानिक ज्ञान पनि होस् । किनकि हामी मानव समाजकै सबैभन्दा उन्नत समाज स्थापना गर्न चाहन्छौं । उन्नत ज्ञानबिना उन्नत व्यवस्था स्थापना गर्न त सम्भव छैन । कथमकदाचित स्थापित भइहाले पनि त्यसलाई टिकाउन असम्भव हुनेछ कम्युनिस्टले समाजको सही अगुवाइ गर्ने हो भने मानव जातिले आर्जन गरेका सर्वोच्च ज्ञानभण्डारले लैस हुनै पर्छ । चाहे त्यो विज्ञानको जुनसुकै शाखा किन नहोस् । पिछडिएको चेतनाले समाजको अगुवाइ गर्न सम्भव छैन ।

विगतका क्रान्तिहरूले स्वामित्वको एउटा रूपको ठाउँमा अर्को रूपको मात्र परिवर्तन गरेका थिए । समाजवादी क्रान्तिले उत्पादनका साधनमा निजी स्वामित्वको अन्त्य गरी त्यसको ठाउँमा सामाजिक स्वामित्व कायम गर्दछ । यसअघिका सबै क्रान्तिले शोषणको एउटा रूपको ठाउँमा अर्कों रूप कायम गरेका थिए । समाजवादी क्रान्तिले मानिसद्वारा मानिसको सबै प्रकारको शोषणको अन्त्य मात्र गर्दैन कि शोषक वर्गलाई र शोषक वर्ग पैदा हुने परिपाटीलाई निर्मूल पार्दछ । अतः हामीले समाजवादको आधार तयार पार्ने भनेको स्वामित्व प्रणालीमा परिवर्तन र शोषणका सबै रुपको अन्त्य गर्ने प्रक्रियामा कदम चाल्नु हो ।

यसअघिका कुनै पनि प्रणालीले उत्पादनको अराजकतावादी चरित्र बदलेका थिएनन् । समाजवादी प्रणालीले मात्रै उत्पादनको अराजकतालाई अन्त्य गरी आवश्यकताका आधारमा योजनाबद्ध उत्पादन गर्ने दिशा तय गर्दछ । पुँजीवाद नाफा कमाउने उद्देश्यले उत्पादन गरिन्छ । समाजवादमा आश्यकता पूर्ति गर्न उत्पादन गरिन्छ । समाजवाद स्वभावैले आत्मनिर्भर अर्थतन्त्रतर्फको यात्रामा हुन्छ । विदेशीको सामान ल्याएर बिक्री गर्ने संरक्षित बजार मात्रै बनाइदिएर न आत्मनिर्भर अर्थतन्त्रको विकास हुन्छ न व्यापारघाटा नै घट्छ । बरु राज्य बहुराष्ट्रिय कम्पनीहरूको स्थानीय प्रतिनिधिजस्तो मात्र हुन्छ । यसले समाजवादको आधार तयार गर्दैन बरु दलाल पुँजीवादलाई मजबुत पार्दछ ।

समाजवाद प्रयोगका क्रममा के त्रुटि भयो ?
पहिलो त्रुटि

राज्य र समाजको स्वामित्वलाई एकै अर्थमा प्रयोग गरियो । राज्य अति सक्रिय भयो तर समाज निस्क्रिय बन्दै गयो । समाजको प्रतिनिधि मै हुँ भन्दै समाजका तर्फबाट सबै निर्णय राज्यले गर्दै गयो । लेनिनले भनेजस्तो समाजबाट उठेको र समाजबाट कटेको संरचनाको रुपमा राज्यको विकास भयो । हुनुपर्ने वास्तविक अर्थमै समाजको स्वामित्व थियो । यसले समाजलाई सक्रिय, शक्तिशाली र एकताबद्ध पाथ्र्यो ।

दोस्रो त्रुटि
पार्टीको अधिनायकत्वलाई वर्गको अधिनायकत्व ठानियो । पार्टी श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधि हो भनेर परिभाषित गरियो । श्रमजीवी वर्गका लागि गरिने सबै निर्णय पार्टीले गर्न थाल्यो । श्रमजीवी वर्ग निस्क्रिय भयो तर पार्टी सक्रिय । पार्टी सञ्चालन गर्ने सिद्धान्त जनवादी केन्द्रीयता भयो । पार्टी पिरामिड आकारको हुने भयो । यस सिद्धान्तअनुसार माथिल्ला समितिहरूको निर्णय मान्न तल्ला समितिहरू बाध्यकारी हुन्थ्ये । अब सिँगै पार्टीको निर्णय सचिवालय वा हेडक्वार्टरले गर्न थाले । हेडक्वार्टरको निर्णय पार्टीको मात्र होइन, सिंगै वर्गको पनि निर्णय हुन थाल्यो । समाजवादी व्यवस्था अल्पतन्त्रविरुद्ध बहुतन्त्रको शासन हुनुपर्ने हो । यो त अत्यन्तै अल्पतन्त्रले सबै निर्णय गर्ने प्रणालीमा फेरियो । बिस्तारै वर्ग र पार्टीका संरचना निस्क्रिय बन्दै गए । एउटा सानो समूह मात्रै क्रियाशील रहने अवस्था बन्यो । जनवादी केन्द्रीयताको ठाउँ नोकरशाही केन्द्रीयताले लियो । क्रान्ति गर्दा लाखौं लाख बलिदान गर्न तयार हुनेहरू नै प्रतिक्रान्ति हुँदा मूकदर्शक बने । सबैले लडेर ल्याएको व्यवस्थामा मुठीभरको हालीमुहाली भयो । नयाँ रूपमा पुरानै अवतार झल्कियो ।

तेस्रो त्रुटि
कम्युनिस्ट पार्टी श्रमजीवी वर्गको मुक्तिदाता बन्यो । तिमी हाम्रो पछि लाग तिमीलाई मुक्त हामी पार्छौं भनेजस्तो भयो । माक्र्सको अवधारणा थियो कि श्रमजीवी वर्गले आफ्नो मुक्ति आफैंले गर्नुपर्छ । मुक्त हुने विचारको विकास पनि श्रमजीवी वर्गले आफैं गर्नुपर्छ । तर, यहाँ विचार पनि इन्चार्ज प्रणालीबाट थोपरियो । विचार, दृष्टिकोण, संगठन, स्वामित्व प्रणाली, सबैमा परनिर्भर भएपछि श्रमजीवी वर्ग निस्क्रिय वर्गमा रुपान्तरण भयो । कम्युनिस्ट पार्टीले खडा गरेका संरचनाले प्रतिक्रान्तिको आधार तय गरे । बुर्जुवा वर्गले साम्यवादको असफलता भनेर डंका पिटे । कतिपय कम्युनिस्ट त्यही कोकोहोलोको पछि लागेर पुँजीवादको शरणमा परे । खास कुरा साम्यवादको असफलता नभएर कम्युनिस्ट कार्यशैली र लागू गर्ने सवालमा केही दृष्टिकोणका समस्या थिए जसलाई सच्याएर जान सकिन्थ्यो र जान सकिन्छ पनि ।

अन्तमा, हामीले दुई वटा गल्तीबाट बच्नुपर्छ । एउटा विगतकै गल्ती दोहोर्याउने र फेरि उही नियति बेहोर्ने । अर्को, असफल भइन्छ भनेर पुँजीवादको शरणमा पर्ने । यसबाट बच्न सकियो भने समस्याको समाधान गर्दै अगाडिको बाटो सफलतापूर्वक तय गर्न सकिन्छ । (नेकपा केन्द्रीय सदस्य आचार्य समाजवाद अध्ययन प्रतिष्ठानका अध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहोस