नेकपा एकता

जिल्ला इन्चार्ज तत्कालीन एमालेलाई ४४ र माओवादीलाई ३३ जना

सफल खबर संवाददाता

मंगलबार, २४ असार २०७६, १३ : ५५
जिल्ला इन्चार्ज तत्कालीन एमालेलाई ४४ र माओवादीलाई ३३ जना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वले जिल्ला इन्चार्ज बाँडफाँट जिल्ला अध्यक्षकै मोडेलमा गर्ने भएको छ । जस अनुसार तत्कालीन नेकपा एमालेको भागमा ४४ जना र तत्कालीन नेकपा माओवादी केन्द्रको भागमा ३३ जना इन्चार्ज पर्ने देखिएको छ ।
जिल्ला अध्यक्षमा एमालेले ४४ र माओवादीले ३३ जिल्लाको नेतृत्व लिने सहमति गरेका थिए। जिल्ला इन्चार्जमा पनि करिब यही अनुसार भागबण्डा हुनेछ। विदेश भ्रमणमा रहेका नेकपाका बरिठ नेता माधव नेपाल असार २९ गते स्वदेश फर्केपछि ३० गते सचिवालय बैठक बसेर सोमबार भएको सहमति अनुसार जिल्ला इन्चार्ज तोक्ने औपचारिक निर्णय गर्ने तयारी छ ।
सहमति अनुसार ७७ जिल्लाका इन्चार्जमध्ये पूर्व एमालेबाट ६० प्रतिशत र पूर्व माओवादीबाट ४० प्रतिशत रहने गरि जिल्ला इन्चार्ज तोकिने छन्। उनीहरू दुई पार्टी एकताअघि साविकको पार्टीबाट जिल्ला इन्चार्ज रहेकाहरू नै हुने छन् । यसअघि जिल्ला अध्यक्षमा एमालेले ४४ र माओवादीले ३३ जिल्लाको नेतृत्व लिएका छन् ।
 ‘एक व्यक्ति एक पद’ को सिद्धान्त अस्वीकार गरिएकाले संघ र प्रदेशमा मन्त्री वा संसाद रहेकाहरू पनि इन्चार्ज हुन सक्नेछन् ।
सोमबार बिहान ७ बजेदेखि ९ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा बरिष्ठ नेता माधव नेपालबीच भएको दुई घण्टा लामो बैठकमा जिल्ला इन्चार्ज पूरानैलाई बनाउने समझदारी भएको हो ।

प्रतिक्रिया दिनुहोस