भारतीय पर्यटकलाई ध्यानमा राखेर सरकारले घटायो क्यासिनो रहने दूरी

सफल खबर संवाददाता

सोमबार, २३ असार २०७६, १८ : ०४
भारतीय पर्यटकलाई ध्यानमा राखेर सरकारले घटायो क्यासिनो रहने दूरी

काठमाडौं । नेपालमा भारतीय पर्यटकको बढ्दो चापलाई ध्यानमा राखेर सरकारले क्यासिनो रहने दूरी घटाएको छ ।
सरकारले नेपालको सिमानाको तीन किलोमिटरमा क्यासिनो खोल्ने व्यवस्था गरेको छ ।

यसअघि क्यासिनो नियमावली २०७० मा विदेशी सिमानाको ५ किलोमिटरभित्र मात्रै क्यासिनो खोल्न पाइने व्यवस्था थियो। त्यसलाई संशोधन गर्दै सरकारले ३ किलोमिटरमा खोल्न पाइने व्यवस्था गरेको हो।

गत असार ८ गतेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताए।

यस्तै, बैठकले निवेदन दस्तुर पनि बढाएको छ। यसअघि क्यासिनो खोल्ने लाइसन्सको निवेदनका लागि लिइँदै आएको ५ लाख दस्तुर बढाएर १० लाख बनाएको छ।

मन्त्रिपरिषद्ले क्यासिनोको इजाजतपत्र दस्तुर पनि ५० लाख बढाएको छ। क्यासिनो नियमावली २०७० अनुसार क्यासिनो सञ्चालनको इजाजतपत्रको लागि २ करोड दस्तुर लिँदै आएको थियो। क्यासिनोको इजाजतपत्र नवीकरणको लागि भने इजाजतपत्रको ५० प्रतिशत दस्तुर लिने व्यवस्था कायमै छ।

नेपालमा ठूला केही सहरहरूमा भएका होटलले भारतको सिमानाको नजिकै भएकाले क्यासिनो सञ्चालन गर्न सकिरहेका थिएनन्। क्यासिनो नियमावलीकै कारणले समस्या देखिएपछि सरकाले यो परिवर्तन गर्ने निर्णय गरेको प्रवक्ता उपाध्यायले बताए।

नेपालमा गत वर्ष इतिहासकै सबभन्दा धेरै करिब १२ लाख पर्यटकले नेपालको भ्रमण गरेका थिए। जुन अघिल्लो वर्षको तुलनामा २४ प्रतिशत बढी हो। त्यसमा भारतीय पर्यटकको हिस्सा सबभन्दा धेरै थियो।

प्रतिक्रिया दिनुहोस