डडेल्धुराका वडा कार्यालयमा शंकास्पद वस्तु फेला

सफल खबर संवाददाता

आइतबार, २२ असार २०७६, १० : ४४
डडेल्धुराका वडा कार्यालयमा शंकास्पद वस्तु फेला

डडेल्धुरा ।  डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका– ९ को गाइबाधे र १० को कुर्मुल्ले वडा कार्यालयमा आइतबार बिहान शंकास्पद वस्तु छाडेर अज्ञात समूहले तालाबन्दी गरेको छ । सोही वडाको ७ र ८ मा तालाबन्दी गरिएको भए पनि बम भने भेटिएको छैन ।

तालाबन्दीसँगै प्लास्टिकमा बेरेर बमजस्तै देखिने शंकास्पद वस्तु राखिएको परशुराम नगरपालिका–९ का वडाध्यक्ष रमेश बोहराले बताए ।

शंकास्पद वस्तु भेटिएको जानकारी जनप्रतिनिधिले गराएपछि प्रहरी घटनास्थलतर्फ गएको छ । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले शंकास्पद वस्तु भेटिएका स्थानमा प्रहरी टोली खटाइएको जानकारी दिए ।

२२ गते नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले अघोषित बन्द आह्वान गरेको र केही स्थानमा पर्चासमेत भेटिएकाले यही समूह संलग्न हुनसक्ने अनुमान प्रशासनले गरेको छ ।

त्यस्तै, आलिताल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमा पनि तालाबन्दी गरिएको छ । यहाँ भने कुनै पनि शंकास्पद वस्तु नराखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस