भारतको दबाबमा परेर सार्वभौम देशको अधिकारको रक्षा गर्न सरकार चुकेको भिम रावलको आरोप

भारतले नेपालबाट जाने चिया चेकजाँच गर्न हुने नेपालले किन गर्न नपाउने ?

सफल खबर संवाददाता

शनिबार, २१ असार २०७६, १९ : २१
भारतको दबाबमा परेर सार्वभौम देशको अधिकारको रक्षा गर्न सरकार चुकेको भिम रावलको आरोप

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भिम रावलले आफ्नै पार्टीको सरकारले गरेको निर्णयप्रति असन्तुष्ट जनाएका छन् ।

उनले भारतको दबावपछि तरकारी र फलफूलमा विषादी परीक्षण रोकिएको विषयमा असन्तुष्ट जनाएका हुन् । उनले सर्वभौम सरकारी अधिकार प्रयोग गर्न सरकार चुकेको आरोप लगाए । आज बसेको नेकपा संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै नेता रावलले यस्तो आरोप लगाएका हुन् ।

विश्‍व व्यापार संगठनमा गरिएको सम्झौताअनुसार नै कुनै पनि देशले तरकारी वा वनस्पती आयात गर्ने क्रममा निश्‍चित मापदण्ड तोक्न पाउने व्यवस्था गरिएको विषय रावलले स्मरण  गराए ।  भारतले पनि अन्य देशबाट मात्रै नभई नेपालबाट जाने चिया रोकेर चेकजाँचको लागि नमूना कलकोत्ता पठाएको विषयमा पनि रावलले ध्यानकर्षण गराए । 

आयात हुने तरकारी तथा फलफूलको अवस्था जाँचबुझ गर्ने यसअघिको सरकारको निर्णय सही भए पनि फिर्ता लिने निर्णयले सरकारले जनताप्रति कर्तव्य निर्वाहामा विमुख देखिएको उनको तर्क छ ।

भारतको दबाबमा परेर सीमामा तरकारी तथा फलफूलको विषादी जाँच्ने निर्णय फिर्ता लिएर सरकारले सार्वभौम देशको अधिकारको रक्षा गर्न नसकेको रावलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस