भारतीय तरकारी र फलफूल सीमा क्षेत्रमा परीक्षण गराउन माग

सफल खबर संवाददाता

शनिबार, २१ असार २०७६, १५ : ४८
भारतीय तरकारी र फलफूल सीमा क्षेत्रमा परीक्षण गराउन माग

काठमाडौं । अनेरास्ववियूका कार्यवाहक संयोजक रञ्जित तामाङले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भारतीय तरकारी र फलफूल सीमा क्षेत्रमा परीक्षण गराउन माग गरेका छन् ।
सरकारले विदेशबाट आयातित फलफूल तथा तरकारीमा जीवनाशक विषादि अवशेष परीक्षण असार एक गतेदेखि गर्ने र विषादि देखिएमा आयातमा रोक लगाउने निर्णय गरेको थियो । तीन साता नपुग्दै सरकार आफ्नो निर्णयबाट पछि हटेपछि तामाङले यस्तो माग गरेका हुन् ।
‘नेपाली जनतालाई विषादिरहित स्वच्छ फलफूल तथा तरकारी खुवाउने र स्वदेी उत्पादनको प्रवद्र्धन गर्न ठूलो मद्दत पुग्ने उक्त सरकारी प्रयासको हामीले स्वागत र उच्च प्रशंसा गरेका थियौँ’ विज्ञप्तिमा भनिएको छ, ‘तर कार्यान्वयन प्रकृयामा समेत जान थालिसकेको उक्त जनपक्षीय निर्णयबाट तयारी नपुगेको भन्ने नाममा सरकार पछि हटेको परिघटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
यसबाट सरकार र यसका निकायहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कतै अनुचित विदेशी दबाबमा परेर पछि हटेका त हैनन् भन्ने गम्भीर आशंका जन्मिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सरकारको यो पछिल्लो निर्णय नेपालको संविधानको धारा ३६ को खाद्य सम्बन्धी मौलिक हकको मर्म विपरीत समेत छ ।’
कुनै पनि शक्ति केन्द्रहरुको अनुचित दबाबमा नपरी आयातित विषाक्त फलफूल र तरकारी सीमा क्षेत्रमा परीक्षण गरेरमात्र प्रवेश गराउने पूर्ववत निर्णयमा अडिग रहन नेपाल सरकार र अन्य सम्वद्ध मन्त्रालय समक्ष माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस