पायल्स के हो ? जानौं पायल्सका बिरामीले खान नहुने कुराहरु

सफल खबर संवाददाता

शुक्रबार, २० असार २०७६, १८ : ३६
पायल्स के हो ? जानौं पायल्सका बिरामीले खान नहुने कुराहरु

काठमाडौं । दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम मानिसमा सुनिन्छ । कसैको त पीप बग्छ, अंगुरका झुप्पाजस्तो पलाएको छ, रातो डल्लो छ भन्ने सुनिन्छ । यही रोग नै पायल्स हो । कसैलाई यो रोग लाग्दा रगत आउछ भने कसैलाई आउदैन ।

पायल्स हुनुको कारण
पायल्स हुनुको मुख्य कारण खानपान र जीवनशैली नै हो । पानी कम खाने, हरियो सागपात नखाने, शारीरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, चिया बढी पिउने, माछामासु तथा सुख्खा चीज जस्तै चाउचाउ, बिस्कुट, चाउमिन बढी खाने, अनियमित खानपान, अनिद्रा,  धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तिको अत्यधिक प्रयोग, कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ ।

दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु, पायल्स रोगको कारण हो । शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ ।

पायल्सबाट धेरै मानिसहरु पीडित भएपनि खुला रुपमा जो कोहीलाई भन्न सकेका हुँदैंनन् । केही उपचारले ठीक भएजस्तो भएपनि फेरि यो समस्या पुनः दोहोरिन्छ । तर खानपान र जीवनशैलीको परिवर्तनबाट पनि यसको समस्याबाट धेरैमात्रामा बच्न सकिन्छ । पायल्सबाट बच्न कस्तो खाना खानु हुँदैंन, थाहा पाउनुस् ।

फास्टफूड नखानुहोस्
पायल्सबाट पीडितहरुले सकेसम्म फास्टफुडबाट बच्नुपर्छ । फास्टफुड खानुको साटो फलफुल र बन्दा, चुकन्दर, गोलभेंडाजस्ता तरकारी खानामा समावेश गर्नुपर्छ । यसले यो समस्या कम गर्न धेरै सहयोग गर्छ ।

धेरै तेलयुक्त र मसालायुक्त भोजन
अत्यधिक तेल या मसाला भएको खाना पायल्सको समस्या भएकाहरुलाई हानीकारक हुन्छ । यद्यपि पायल्स नभएकाहरुलाई पनि डाक्टरहरु यस्तो खाना नखान सल्लाह दिन्छन् । पहिल्यैदेखि पायल्सको समस्या छ भने यस्तो खानाले समस्या झन् बढाउने हुन्छ । यसका साथै कुनै पनि प्रकारको खुर्सानी नखानुहोस् ।

कफी, कोल्ड ड्रिंक्स
यसका अलावा चिया, कफी, कोल्ड ड्रिंक र बजारमा पाइने अरु चिज सेवन गर्नुहुँदैंन । सकेसम्म घरमै बनेको खाना खानुपर्छ ।

राजमा या मुसुरोको दाल
राजमा या मुसुरोको दाल पनि पायल्सबाट पीडित मानिसले सकेसम्म खानुहुँदैंन । राजमा या मुसुरोजस्ता गेडागुडीको सेवनले पायल्स रोगीलाई नराम्रो गर्छ ।

मांसाहारी भोजन
कुनै पनि खालको मांसाहारी भोजनको सेवन गर्नुहुन्न । मांसाहारी सुप पनि सेवन गर्नुहुन्न ।

घिउ
सन्तुलित मात्रामा घरमै बनेको घिउको सेवनले शरीरलाई फाइदा गर्छ । तर धेरै खानाले पायल्स रोगीलाई झन् समस्या बढाउन सक्छ । यसैले शरीरलाई राम्रो गर्ने हिसाबले मात्र घिउ सेवन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस