मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

रासस

बुधबार, १८ असार २०७६, २१ : ३८
मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

काठमाडौं । नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेको थियो ।

मनसुन सक्रिय नहुँदा देशभर गर्मी बढेको छ । नेपालको पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन अझै पूर्ण सक्रिय हुन् तीन–चार दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यूनचापीय रेखा मध्यभारतमै रहेकाले मनसुन कमजोर भएको महाशाखाका मौसमविद् राजु प्रधानांगले बताए । उक्त प्रणाली बिस्तारै नेपालसम्म आइपुग्न तीन–चार दिन लाग्ने उनको भनाए छ । अहिले मनसुन कमजोर अवस्थामा रहेकाले हल्का र क्षणिक वर्षा मात्र भएको र तत्काल भारी वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा बिहान र साँझपख हल्का वर्षा हुने गरे पनि मध्याह्नमा चर्को घाम लाग्ने र दिउँसो बदली हुने क्रम जारी छ । आंशिक बदली र घाम लाग्ने क्रमले गर्दा उपत्यकाका बढी गर्मी महसुस गरिएको छ । तीन दिनयता काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३१ देखि ३२ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेकामा बुधबार ३१ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । यसअघि जेठ ३१ गते यो वर्षकै बढी तापक्रम ३३ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो ।

राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । मध्य र पश्चिमको एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

त्यस्तै शुक्रबार देशभर सामान्य बदली रही देशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया मनसुन प्रवेश गर्ने समय जुन १० हो । यस वर्ष १२ दिन ढिलो गरी मनसुन भित्रिए पनि अझै सक्रिय बन्न सकेको छैन ।

नेपालमा साधारणतयाः जुन १० देखि सेप्टेम्बर २३ सम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस