गलत खानपानले हुन्छ कब्जियत

बुधबार, १८ असार २०७६, १८ : ५५
गलत खानपानले हुन्छ कब्जियत

- डा. मधु अर्याल, फिजिसियन नेपालगन्ज मेडिकल कलेज

काठमाडाैं । खाएको खाना नपच्नु वा अपच हुनुलाई कब्जियत भएको भनिन्छ । अर्थात्, खाएको खाना पचेर दिसा नभई शरीरमा फोहर जम्मा हुनु कब्जियत हो । दिसा कडा हुनु, ३ देखि ४ दिनसम्म नहुनु र गर्न गाह्रो हुनु पनि कब्जियत हो । 
कब्जियत स्थायी र अस्थायी गरी दुई प्रकारका हुन्छन् । स्थायी कब्जियत भएमा निको पार्न एकदमै गाह्रो हुन्छ । जुन विभिन्न रोगको कारक तत्वसमेत हो । जसका लागि सम्बन्धित चिकित्सकसँग सल्लाह नै लिनुपर्ने हुन्छ । तर, खानपान र जीवनशैलीमा परिवर्तन गर्न सकेमा अस्थायी कब्जियत आफैँ निको हुन्छ । 

कारण

- अनियमित खानपान, शारीरिक व्ययामको कमी, खानेकुरा नपच्नु, औषधिको अत्यधिक सेवन, पानी कम पिउनु, अमिलो–पिरो, फस्टफुड र ड्राईफुडको सेवन आदि कब्जियतका मुख्य कारण हुन् ।
- अस्वस्थ जीवनशैली, तनावयुक्त दैनिकी, अपर्याप्त निद्रा, धूम्रपान, मद्यपान र कोल्डड्रिंक्स सेवन तथा लामो समयसम्म एउटै ठाउँमा बसेर काम गर्नुजस्ता कारणले कब्जियत हुन्छ । 

लक्षण

- दिनहुँ दिसा नहुनु, कडा हुनु वा बारम्बार भइरहनु कब्जियतको मुख्य लक्षण हो । कब्जियत भएमा भोक नलाग्ने, पेट फुल्ने, भारी हुने, आलस्य हुने र अनिद्राजस्ता समस्या देखिन्छन् । लामो समयसम्म दिसा नभएमा टाउको दुख्ने, वाकवाक लाग्ने, छाती वा घाँटी पोल्ने हुन्छ  ।  

बच्ने उपाय 

- सामान्य औषधोपचार, व्यायाम र स्वस्थ जीवनशैली अपनाउन सकेमा सजिलै कब्जियत निको पार्न सकिन्छ । खानपानमा ध्यान दिनुपर्छ । नियमित व्यायाम गर्नुपर्छ ।
- कब्जियत हटाउनेबारे दिइएका कतिपय विज्ञापनमा विभिन्न चुर्णको प्रयोगबारे बताइएको हुन्छ । यस्ता अखाद्य वस्तुको सेवनले अन्य साइड इफेक्ट हुन सक्ने भएकाले चिकित्सकको सल्लाहविना कुनै पनि औषधि सेवन गर्नुहुँदैन । 
- लामो समयसम्म कब्जियत भएमा पाइल्सको समस्या हुने भएकाले समयमै रोकथाम गर्नुपर्छ ।
- मौसमी फाइबरयुक्त खाद्यपदार्थ नियमित सेवन गर्नुपर्छ । प्रशस्त पानी पिउनुपर्छ । फास्टफुड, ड्राईफुड र कोल्डड्रिंक्सबाट टाढा रहनु वेश हुन्छ । मद्यपान र धूम्रपान गर्नुहुँदैन ।
- लामो समयसम्म दिसा च्यापेर राख्नुहुँदैन । चाँडो सुत्ने चाँडै उठ्ने तथा पर्याप्त निद्रा पु-याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस