काठमाडौँ । राष्ट्रिय सभा सदस्यहरूले अबको एजेन्डा प्रतिनिधि सभाको पुनर्स्थापना नभएर फागुन २१ को चुनाव रहेको बताएका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनीहरूले यस्तो बताएका हुन् ।
समितिमा संघीय संसद्को आसन्न निर्वाचनको तयारी सम्बन्धमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल भएको छ । बैठकमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी लगायत रहेका छन् ।
जहाँ राष्ट्रिय सभा सदस्यहरूले कतिपय राजनीतिक दलले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरिराखेको भनेर त्यता जान उपयुक्त नहुने राय राखेका हुन् ।
राष्ट्रिय सभा सदस्यहरू उदयबहादुर बोहरा, जगप्रसाद शर्मा, मनरुपा शर्मा, विष्णुकुमारी सापकोटा, गोपी बहादुर सार्की अछामीले चुनावको विकल्प नरहेको बताए ।
‘केही दलबाट पुनर्स्थापनाको कुरा उठाइएको छ’, सांसद बोहराले भने, ‘मलाई लाग्छ– निर्वाचनको विकल्प छैन । पुनर्स्थापनाको मागले मुलुकलाई सही निकास दिन सक्दैन ।’
सांसद मनरुपा शर्माले जेन जेडको सहभागिताको लागि समेत चुनाव आवश्यक रहेको बताइन् ।
‘पुनर्स्थापना भनेको सुनिन्छ । तर चुनावको विकल्प छैन, जेन जेडको सहभागिताको लागि समेत चुनाव अनिवार्य छ,’ उनले भनिन् ।
सांसद सापकोटाले निर्वाचनमा जान दलहरू तयार रहेको बताइन् ।
राष्ट्रिय सभा सदस्यहरू किरणबाबु श्रेष्ठ लगायतले चुनावको वातावरण बन्नुपर्नेमा जोड दिए । ‘शान्ति सुरक्षा र भयरहित वातावरण बनाउने सरकारको प्रतिबद्धमा निर्वाचन आयोग कति विश्वस्त छ ?,’ उनको प्रश्न छ ।
चुनावको वातावरण बनाउन राजनीतिक दलहरू समेत प्रयत्न गर्नुपर्ने सांसद श्रेष्ठको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ कार्तिक २०८२, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता
राष्ट्रिय सभा : विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
१९ जना सांसद राष्ट्रिय सभाबाट बिदा हुँदै
राष्ट्रिय सभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान
राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुने
राष्ट्रिय सभाको अधिवेशन छठपछि बोलाउने तयारी हुँदै