यस्ता छन् दही चिउरा खानुका फाइदाहरु

आइतबार, १५ असार २०७६, १२ : ११
यस्ता छन् दही चिउरा खानुका फाइदाहरु

चितवन । आज असार १५ अर्थात् नेपाली समाजमा खेतमा रोपाईं गरी दही चिउरा खाएर मनाउने परम्परा छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि दही चिउरा खाएर आजको दिन मनाउने गर्दछन् । हामीले मनाउने विभिन्न चाड पर्वको छुट्टै मूल्य मान्यता भएपछि यस दिन खाने परिकारको पनि विशेष महत्व हुन्छ । आजका दिनमा खाइने दही चिउराले पनि स्वास्थ्यलाई विभिन्न फाइदा पुर्याउने गर्दछ ।

यहाँ दही र चिउराले शरिरमा पुर्याउने फाइदा बारे जानकारी दिइएको छ ।

दही

दहीमा प्रचुर मात्रामा क्याल्सियम पाइन्छ । यसका साथै, यसमा सोडियम, पोटासियम, भिटामिन ए, डी, बी–१२ पाइन्छ जसका कारणः

१. पाचन क्रियामा सघाउँछ

दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले पाचन क्रियालाई सहयोग पुर्याउँछ । दही चिसो हुने भएकाले यसले मसालेदार खानेकुराको असरलाई कम गर्दछ ।

२. मुटु स्वस्थ बनाउँछ

दहीले कोलेस्ट्रोलको मात्रालाई पनि नियन्त्रणमा राख्छ जसका कारण दही नियमित खाने व्यक्तिको मुटु स्वस्थ हुन्छ ।

३. प्रतिरोधी क्षमता बढाउँछ

दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले प्रतिरोधी क्षमतामा वृद्धि गर्दछ ।

४. दाँत र हड्डी बलियो बनाउँछ

दहीमा क्याल्सियम र फोस्फरसको मात्रा अत्यधिक हुने भएकाले यसले दाँत र हड्डीलाई बलियो बनाउँछ । नियमित रुपमा दहीको सेवनले हड्डीसम्बन्धि रोग लाग्नबाट जोगाउँछ ।

५. छालाको स्याहारका लागि उपयोग गरिन्छ

दहीलाई घरेलु फेस प्याकमा अत्यधिक प्रयोग गरिन्छ । दहीमा जिंक, भिटामिन ई, फस्फरोसजस्ता मिनरल्स पाइने भएकाले यसले छालालाई जवान राख्छ ।

६. चायाँ हटाउँछ

दहीमा पाइने ल्याक्टिक एसिडले कपालको चायाँबाट राहत प्रदान गर्दछ । मेहेन्दीमा दही मिसाएर लगाउँदा चायाँ हट्नुका साथै कपाललाई नरम र चम्किलो राख्न मद्दत गर्दछ ।

७. तौल घटाउन सहयोग गर्दछ

दहीमा पाइने क्याल्सियमले शरिरमा कार्टिसोल बनाउन सहयोग गर्दछ । शरिरमा कार्टिसोलको असन्तुलनले मोटोपना, हाइपरटेन्सन र कोलेस्ट्रोल बढाउने गर्दछ ।

८. तनाव र चिन्ताबाट राहत

खानामा दही समावेश गर्दा यसले शरिरलाई रिल्याक्स हुन मद्दत गर्दछ । एक अनुसन्धानका अनुसार दहीको सेवनले दिमागको त्यो भागको क्रियाकलापलाई कम गर्दछ जसले भावना र पीडालाई नियन्त्रण गर्दछ ।

यदि तपाईंलाई दही चिउरा खान यति फाइदा अपर्याप्त छ जस्तो लाग्छ भने चिउराका फाइदाबारे पनि जानकारी लिनुहोस्ः

१. चिउरामा भिटामिन ए, सि, क्याल्सिम र आइरनको प्रचुर मात्रा पाइन्छ ।

२. चिउरा फ्याट र ल्याकटोस नहुने भएकाले मुटुका लागि निकै स्वस्थ हुन्छ ।

३. यसमा आइरनको मात्रा धेरै हुन्छ । यसमा भिटामिन बी, कार्बोहाइड्रेट र प्रोटिन हुन्छ ।

४. चिउरामा थोरै तरकारी समावेश गर्दा यो खानाको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

५. यसमा कार्बोहाइड्रेटमा मात्रा धेरै हुने भएकाले शरिरमा ऊर्जाको स्तरलाई कायम राख्न सहयोग गर्दछ ।

६. चिउरा निकै सजिलै पच्ने भएकाले पाचनमा समस्या हुनेहरुले प्रयोग गर्न सक्छन् ।

७. चिउराले मधुमेह रोगीलाई निकै फाइदा पुर्याउँछ । यसको सेवन गर्दा धेरै बेरसम्म भोक नलाग्ने र रगतमा सुगरको संचार ढिलो गराउँछ ।

प्रतिक्रिया दिनुहोस