मदिरा सेवनले कलेजोमा यस्ता समस्या

आइतबार, १५ असार २०७६, १० : ५६
मदिरा सेवनले कलेजोमा यस्ता समस्या

काठमाडौँ । रक्सीले हाम्रो शरीरमा एल्डिहाइड नामक रसायन उत्पादन गर्छ । जसले सुरुमा कलेजोमा संक्रमण गर्छ र कलेजो सुन्निन थाल्छ । लगातार मदिरा सेवन गरेमा बिस्तारै कलेजो कडा हुँदै जान्छ र अन्त्यमा पूरै बिग्रने अवस्था आउँछ । 

पछिल्लो समय कलेजोसम्बन्धी समस्या हुने मानिसको संख्या बढ्दो छ । जसको मुख्य कारण मदिराजन्य पदार्थ हो । रक्सीले कलेजो, मुटु, मस्तिष्क, आन्द्रा तथा खानेनली आदिलाई असर गर्छ । रक्सीले हाम्रो शरीरमा एल्डिहाइड नामक रसायन उत्पादन गर्छ । जसले सुरुमा कलेजोमा संक्रमण गर्छ र  कलेजो सुन्निन थाल्छ । लगातार मदिरा सेवन गरेमा बिस्तारै कलेजो कडा हुँदै जान्छ र अन्त्यमा पूरै बिग्रने अवस्था आउँछ । अब जानौँ, मदिराका कारण कलेजोमा आउने समस्याबारे :

सिरोसिस
–सिरोसिस कलेजो कडा हुने समस्या हो । लामो समयसम्म लगातार मदिरा सेवन गर्ने व्यक्तिमा सिरोसिसको समस्या हुने गर्छ । सिरोसिस दुई चरणमा हुने गर्छ । पहिलो चरणमा आँखा पहेँलो हुने, रगत बान्ता हुने, पेटमा पानी जम्मा हुने, बेहोस हुने र मिर्गौलामा समस्या देखिने हुन्छ । 
–दोस्रो चरणमा पुग्दा कलेजो पूरै कडा भइसकेको हुन्छ । जसलाई मेडिकल भाषामा सिएलडी भनिन्छ । यो अवस्थामा पुगिसकेपछि कलेजो प्रत्यारोपणबाट मात्र उपचार सम्भव हुन्छ ।

क्यान्सर
–लामो समयसम्म अल्कोहल सेवन गर्ने व्यक्तिमा कलेजोमा क्यान्सर हुने सम्भावना एकदमै धेरै हुन्छ । सुरुको अवस्थामा शल्यक्रियाबाट उपचार गर्न सकिन्छ । तर, गम्भीर रूपमा कलेजोमा क्यान्सर भएमा उपचार सम्भव हुँदैन । 
फ्याटी लिभर

–फ्याटी लिभर कलेजोमा देखिने सबैभन्दा सुरुको अवस्था हो । रक्सीको सेवन पूर्ण रूपमा छाडेमा कलेजो सामान्य रूपमा फर्किन सक्छ । कलेजोमा बोसो जमेको भिडियो एक्सरेबाट पत्ता लगाउन सकिन्छ ।

अल्कोहोलिक हेपाटाइटिस 
फ्याटी लिभरको समस्या भइसकेपछि पनि मदिरा पिउन नछाडेमा अल्कोहोलिक हेपाइटाइटिसको समस्या हुने गर्छ । जन्डिस देखिने, खान मन नलाग्ने, दाहिने कोखा दुख्ने, ज्वरो आउने र कमजोर महसुस हुनेजस्ता लक्षण देखिन्छन् । यस्ता लक्षण देखापर्दा समेत मदिरा सेवन बन्द नगरेमा जन्डिसको समस्या बल्झिँदै जाने हुन्छ । जो अल्कोहोलिक हेपाइटिस हो । यसका कारण रगत एकदमै पातलो हुन्छ । करिब ५० प्रतिशत बिरामीको मुत्यु अल्कोहोलिक हेपाटाइटिसले हुने गरेको पाइन्छ ।

कलेजोको काम
कलेजो शरीरभित्रको दोस्रो ठूलो अंग हो । यसले शरीरलाई आवश्यक ऊर्जा भण्डारण गर्ने, विषाक्त पदार्थ बाहिर निकाल्ने र खाना पचाउने काम गर्छ । यो करिब पाँच सयभन्दा बढी शारीरिक गतिविधिमा संलग्न हुन्छ । कलेजोले प्रोटिन, कार्बोहाइडेट र फ्याटलाई समेत पचाउने काम गर्छ । –नयाँ पत्रिकाबाट 

प्रतिक्रिया दिनुहोस