जिल्ला खुला दिसामुक्त सदरमुकाममै छैन सार्वजनिक शौचालय

पत्रपत्रिकाबाट

सोमबार, ०९ असार २०७६, ०६ : ४८
जिल्ला खुला दिसामुक्त सदरमुकाममै छैन सार्वजनिक शौचालय

बैतडी । ठूलो धनराशि खर्च गरेर बैतडीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरियो तर सदरमुकाममै सार्वजनिक शौचालय छैन । जताततै खुला दिसापिसाब गर्ने गरिएको छ । 
सरकारी तथा गैरसरकारी संस्थाको पहलमा जिल्लाभरि शौचालय बनिसकेको भन्दै तीन वर्षअघि तामझामका साथ खुला दिसामुक्त क्षेत्र घोषण गरिएको थियो । खानेपानी मन्त्रीकै आतिथ्यमा खुला दिसामुक्त क्षेत्र घोषणा पनि भयो तर अहिलेसम्म खानेपानी शुद्ध हुन सकेको छैन । खानेपानीमा दिसामा हुने जीवाणु ९कोलिफर्म० देखिएपछि सर्वसाधारणको स्वास्थ्यमा गम्भीर सङ्कट उत्पन्न भएको छ । पिउने पानीमा कोलिफर्म भेटिन थालेपछि नागरिक समाजका तर्फबाट खुला दिसामुक्त जिल्ला घोषणा बदर गर्र्ने माग गर्नुपर्ने बैतडीका बुद्धिजीवी एवं सामाजिक अभियन्ता डा। केदारचन्द्र भट्ट बताउनुहुन्छ । 

“खुला दिसामुक्त जिल्ला त घोषणा गरियो तर बैतडी आउने साना सहरी खानेपानीको मुहान वरिपरिका बस्तीमा खुला दिसापिसाब भइरहेको छ । सर्वसाधारण खुला दिसापिसाब गर्न बाध्य छन् । पैसा सक्न कागजमा मात्रै खुला दिसामुक्त जिल्ला घोषणाको के अर्थ भयो ?’’, भट्टले प्रश्न गर्दै भन्नुभयोे । 
दशरथ चन्द नगरपालिकाको अगुवाइमा असार पहिलो हप्ता बैतडी सदरमुकामवासीले पिउँदै आएको साना सहरी खानेपानी आयोजनाको पानी परीक्षण गराउँदा कोलिफर्म भेटिएको हो । 
सदरमुकामवासीले पिउँदै आएको धाराको पानी, ड्रममा भण्डारण गरिएको पानी र होटलमा पिउनका लागि जगमा राखिएको पानी अलग अलग परीक्षण गर्दा कोलिफर्म भेटिएको खानेपानीसम्बन्धी काम गर्दै आइरहनुभएका प्राविधिक नरेन्द्र ठगुन्नाले बताउनुभयो । बैतडी सदरमुकामको खानेपानी ल्याबमा परीक्षण गर्दा धाराको पानीमा ५० भन्दा बढी कोलिफर्मको मात्रा भेटिएको उहाँले जानकारी दिनुभयो । 
सदरमुकामवासीले पिउने गरेको पानीको गुणस्तर मापन गर्दा पानीमा कोलिफर्म भेटिएकाले मुहानवरिपरि हुने खुला दिसापिसाब रोक्न स्थानीय तहको सरकारले पहलकदमी चाल्नुपर्ने स्थानीय सामाजिक संस्था रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताउनुभयो । 
पानीमा हुने कोलिफर्मका कारण बैतडीमा बर्सेनि झाडापखाला फैलिने गरेको छ । गर्मीयामसँंगै जिल्ला अस्पताल बैतडीमा अहिले दैनिक १०÷१५ जना झाडापखालाका बिरामी आउने गरेको जिल्ला अस्पताल बैतडीले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस