कविता : यादहरू

आइतबार, ०८ असार २०७६, १२ : ४८
कविता : यादहरू

- सुमिना "अभिलाषी"

कतै समयका तापहरूले पगाल्दा
म तड्पनका पसिनाहरूले निथ्रुक्क रुझेको बेला 
गृस्मका चर्का रातहरूमा कैयौंपटक ,

तिमी स्मृतिमा एसि बनेर सवार हुन्छौ 
मनोकल्पित मकानको बन्द कोठाभित्र
निकै बेर काल्पनिक सितलताको अनुभुत गर्दै 
चिस्सिन्छु रातै भर 
चालित मस्तिष्कको गतिलाइ यथावत राख्दै
फगत बन्द गरेर आँखाहरू

जब आकश मडारिन्छ, 
अट्टहास गर्दै भयानक ध्वनिमा
मेग गर्जिन्छ 
म अतालिएर निश्वास हुन्छु 
कालो रातको दुर क्षितीजबाट लगत्तै 
बिजुली बनेर चम्किन्छौ तिमी 
र प्रकाश भर्छौ निडरताको
मेरो सन्त्रस्त मगजमा

वर्षा याम असारको अविरल झरी 
एक नास बर्सिरहेको बेला 
म घरको आँखिझ्यालबाट टोलाइरहँदाको पल
स्मृतिको बतासले बाछिटा बनाइ
ल्याइ पुर्याउछ तिमिलाइ मसम्म

अनि चुहिन थाल्छौ तप्प तप्प
रुझेर मेरो महसुसको शरीरभरी 
जसरी निथ्रुक्क रुझेर चुहिन्छ पानी
तपतप रुखका पातपातहरू बाट

कतै 
कठ्याङिएको बेला जिन्दगी 
हेमन्तका चिस्याहटहरूबाट 
थरथर मुटुँ कापेको बेला 
निर्मम समयको तुषारापातहरूबाट 
तिमी ताप बनेर आँउछौ मस्तिस्कसम्म
मेरो मनको अगेनोभरि
अनायास झिंजा बनेर सल्किन थाल्छौ
र मलाइ न्यानो पनको आभास दिन्छौ

प्रिय,
जब जब जिन्दगीका कठिन परीक्षाहरूमा 
म निराश भएर भिडिरहेकी हुन्छु ,

तिमी सहज उत्तर लिएर आइपुग्छौ कहिँबाट पनि 
र छापिन्छौ मेरा प्रश्न पत्रहरूमा उपयुक्त उत्तर बनेर 
र उभ्याउछौं जिन्दगीको उचाइमा मलाइ
सफल र उत्कृष्ट नतिजाको अधिकारी बनाएर ।
(बुटवल, रुपन्देही)

प्रतिक्रिया दिनुहोस