भेटी सार्वजनिक गर्न पशुपति क्षेत्र विकास कोषलाई राष्ट्रिय सरोकार समितिको निर्देशन

सफल खबर संवाददाता

विहीबार, ०५ असार २०७६, १९ : ४६
भेटी सार्वजनिक गर्न पशुपति क्षेत्र विकास कोषलाई राष्ट्रिय सरोकार समितिको निर्देशन

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिले पशुपति क्षेत्र बिकास कोषलाई भेटी र आर्थिक कारोबार सार्बजनिक गर्न निर्देशन दिएको छ । आज (बिहिबार) समितिकी सभापति दिलकुमारी रावल ‘पार्वती’को अध्यक्षतामा बसेको समितिको बैठकले सो निर्देशन दिएको हो ।

समितिले पशुपती क्षेत्र विकास कोषको गुरुयोजना तत्काल निर्माण गर्न  र कोषको स्वामित्वमा रहेको जमिनको आम्दानीबारे समायानुकुल मुल्याङकन गरी लागु गर्न निर्देशन दिएको छ । पशुपति क्षेत्रको धार्मिक, एतिहाँसिक, साँस्कृतिक महत्वलाई कायम राखी पुनःनिर्माण, संरक्षण र बिकाशमा ध्यान दिनुपर्ने सभापति रावलले बताउनुभयो ।

पशुपति क्षेत्र अन्तर्गत रहेका पशुपंक्षी तथा जनाबरहरुको संरक्षण, बागमती लगाएतका नदिहरुको संरक्षण, नागार्जुन, शिवपुरी लगाएतका वनको संरक्षण र विभिन्न निकायहरु विच सहकार्य र समन्वयमा ध्यान दिन समितिको निर्देशनमा उल्लेख छ । पशुपति क्षेत्रको सम्पूर्ण जमिनको नाप नक्साङकन गरी जग्गा धनी पूर्जा दिलाउन नेपाल सरकारको ध्यानाकर्षण समेत समितिले गराएको छ ।

कोषका तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै सदस्य सचिव डा. प्रदिप ढकालले हालसम्म पशुपति क्षेत्र विकास कोषको भौतिक प्रगति ७० प्रतिशत र बित्तिय प्रगति ५६ प्रतिशत रहेको बताउनुभयो । २०७०÷७१ सालदेखि कोषले शवदाह गृह निर्माण तथा सञ्चालन, उद्यान विकास, पर्खाल निर्माण, ढुङ्गेधारा संरक्षण, धर्मशालाको जीर्णद्धार, भू–क्षय नियन्त्रण, छात्रवास भवन मर्मत, घाट मर्मत सुधार लगाएतका काम गरेको उहाँले बताउनुभयो । क्षेत्र विकास कोषको गुरुयोजनाको नक्सा तयार भएको र तथ्याङक संकलन र गुरुयोजना लेखनको काम भइरहेको उहाँको भनाई छ ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले छिट्टै गुरुयोजना तयार गर्ने प्रतिद्धता जनाउनुभयो ।

पशुपति क्षेत्रको कुल क्षेत्रफल २६४ हेक्टर मध्ये ८३.५५ हेक्टर क्षेत्रफल प्राचीन स्मारक क्षेत्र पर्छ । धार्मिक, आध्यात्मिक, पुरातात्विक, साँस्कृतिक एवं प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण स्थल पशुपतिनाथ क्षेत्रको योजनाबद्ध विकासका लागि पशुपति क्षेत्र विकास कोष स्थापना गरिएको हो । पशुपति क्षेत्र भित्र करिब ५ सय १८ साना ठूला धार्मिक तथा ऐतिहाँसिक स्मारक रहेका छन् । सन् १९७९ देखि युनेस्कोबाट पशुपतिनाथलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरेको थियो । २०४३ पौष १ गते कोष स्थापना गर्ने घोषणा गरिएको थियो भने पशुपति क्षेत्रलाई आर्थिक बर्ष २०७०÷७१ देखि नेपाल सरकारले राष्ट्रिय गौरबको आयोजनाको रुपमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस