चिकित्सकको आग्रह : अंकमाल गर्ने र हात मिलाउने काम नगर्नुहोस्

सफल खबर संवाददाता

विहीबार, ०५ असार २०७६, १७ : २९
चिकित्सकको आग्रह : अंकमाल गर्ने र हात मिलाउने काम नगर्नुहोस्

काठमाडौ । नेपालमा विभिन्न रोगहरु फैलिएको भन्दै चिकित्सकले अंकमाल नगर्न र हात नमिलाउन आग्रह गरेका छन् । अहिले दक्षिण एसियाभरी नै मौसमी रुघाखोकीको महामारी फैलिएको भन्दै यस्तो आग्रह गरेका हुन । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जुन महिनासम्म तीन हजार १०१ बिरामीमा जाँच गर्दा एक हजार २९१ जनामा मौसमी रुघाखोकी देखिएको थियो ।

महाशाखाका निर्देशक डा. भीम आचार्यले “ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने, रुघाखोकी लागेमा तुरुन्त उपचार गराउनुपर्छ, अति आवश्यक काम नपरी भीडभाडमा नजाने, पोषिलो खानेकुरा खाने, सकेसम्म हात नमिलाउने, अंकमाल नगर्नेजस्ता सतर्कता अपनाउन आवश्यक रहेको वताएका छन् ।

यसैगरी डा. भगवान कोइराला भन्छन् सहरमा धुवाँ धुलो, प्रदूषण भएको सबैमा ज्ञान छ । आफू रोगी बन्दै गएको पनि थाहा छ । खानपानमा ध्यान दिनुपर्ने विषयमा बहस गरिरहेका हुन्छौँ । तर, आफैँमा लागू गर्दैनौँ । जुन सबैभन्दा ठूलो समस्या हो । सहरमा हरेक ठाँउमा स्वास्थ्य संस्था सजिलै उपलब्ध छन् । तर, बिरामी नभई स्वास्थ्य परीक्षण गर्न जाँदैनौँ । चिकित्सकको सल्लाह एकदमै थोरैले मात्र मानिरहेका हुन्छन् । अब बानी बदल्नुपर्छ । नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । चिकित्सकको परामर्श अनिवार्य लागू गर्नुपर्छ । नत्र कतिबेला के भइरहेको थाहा हुँदैन । भित्र भित्रै अन्य रोगले च्यापेको हुन्छ । अनि मौसमी भाइरलले नै जीवन टपक्कै टिपेर लैजान्छ ।

काठमाडौँ लगायत देशका अन्य जिल्लामा मौसमी रुघाखोकी (इन्फ्लुएन्जा भाइरस) का बिरामीको सङ्ख्या बढेको थियो । इन्फ्लुएन्जा भाइरस टाएप ए को (एच–एन१) भाइरसबाट गत साउन–भदौमा सङ्क्रमित बिरामीको सङ्ख्या ८०६ थियो ।

निर्देशक आचार्य मौसमी रुघाखोकी कुनै पनि समय फैलन सक्ने भएकाले यसबाट हमेसा सतर्क रहनुपर्ने बताउछन् । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा यो भाइरस छिटो सङ्क्रमण हुने भएकाले रुघाखोकी लाग्नासाथ उपचार गराउन उनको सुझाव छ । “सामान्य मौसमी रुघाखोकी भएकाले धेरै डराउनुपर्ने नभए पनि सतर्क हुनुपर्छ, जटिलता भएमा मृत्यु हुने खतरा बढी हुन्छ,” उनले भने । विगतमा सुँगुरबाट (एच–एन१) भाइरस सर्दै आएको थियो । अहिले यसले आफ्नो रूप परिवर्तन गरेको छ ।

प्रतिक्रिया दिनुहोस