भरतपुर अस्पताललाई डुबानबाट जोगाउन मोज्याक टायल लगाइने

सफल खबर संवाददाता

विहीबार, ०५ असार २०७६, १७ : ०७
भरतपुर अस्पताललाई डुबानबाट जोगाउन मोज्याक टायल लगाइने

चितवन । भरतपुर अस्पतालको अगाडिको भाग वर्षामा डुबान हुने समस्याबाट पार पाउन मोज्याक टायल लगाइने भएको छ । टायल लगाएपछि पानी जम्ने समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
भरतपुर महानगरपालिकाको सहयोगमा टायल लगाउन लागिएको हो । अस्पतालको आग्रहमा महानगरपालिकाले कुल लागतको ८० प्रतिशत बेहोर्ने गरी टायल लगाउन लागिएको हो । अस्पतालको दुई नम्वर गेटदेखि बहिरंग सेवासम्मको १ हजार ३ सय ६९ स्वायर मिटर क्षेत्रफलमा टायल लगाउन लागिएको छ । टायल लगाउनका लागि करिब २४ लाख रुपैंया खर्च हुने अनुमान गरिएको छ ।
महानगरपालिका प्रमुख रेनु दाहालले अस्पतालको अगाडिको भाग भत्किएको र पानी पर्दा जमेर समस्या हुने देखिएपछि टायल लगाउनका लागि सहयोग गर्न लागिएको वताउनु भयो । प्रमुख बनेपछि दाहालले यही अस्पतालमा आउने महिला बिरामीहरुको लागि बहिरंग सेवाको टिकट निःशुल्क गरेर कामको थालनी गर्नु भएको थियो ।
अस्पताल व्यवस्थित बनाउने काममा प्रमुख दाहालको महत्वपूर्ण भूमिका रहेको छ । क्षेत्र नम्बर तीनका सांसद एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र उहाँकै अगुवाईमा अस्पताललाई केन्द्रीय स्तरको बनाइएको हो ।
अस्पताल विकास समितिका अध्यक्ष खेम भण्डारीको अध्यक्षतामा बिहीबार सम्पन्न बैठकले टायल लगाउनका लागि शिवप्रसाद भट्टराईको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्ष मोतिराम ढुङ्गाना, सचिवमा चिरन्जीवी सुवेदी, कोषाध्यक्षमा डम्बरकुमारी पोख्रेल र सदस्यमा प्रकाशराज पन्त रहनु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार यहि महिनामा काम सम्पन्न गर्ने गरी प्रकृया अघि बढेको छ । अस्पताललाई देशकै नमुना बनाउने कुरामा आफ्नो तर्फबाट सहयोग गर्न सधै तयार रहेको महानगर प्रमुख दाहालले बताउँदै आउनु भएको छ । दैनिक यस अस्पतालमा एक हजार पाँच सय हाराहारी बिरामी उपचारका लागि आउने गर्दछन् । सबैले अस्पताललाई साथ र सहयोग गरेमा नमुना अस्पतालको रुपमा विकास गर्न सकिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु बगालेले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस