थाइराइड हर्मोनमा गडबढी आए गलगाँड हुन्छ

विहीबार, ०५ असार २०७६, ०९ : ४५
थाइराइड हर्मोनमा गडबढी आए गलगाँड हुन्छ

डा. नरेश पराजुली, मधुमेह थाइराइड तथा हर्मोनरोग विशेषज्ञ मनमोहन मेमोरियल अस्पताल्र 
काठमाडौँ । गलगाँडलाई सामान्यतया थाइराइड पनि भन्ने गरिन्छ, जो सास फेर्ने नलीको बाहिरपट्टि हुन्छ । पुतली आकारमा हुने गलगाँडले थाइराइड नामक हर्मोन उत्पादन गर्छ । सामान्यतया हर्मोनको मात्रामा गडबडी आएर ग्रन्थी फुल्नुलाई गलगाँड भनिन्छ ।

थाइराइडमा विभिन्न गाँठागुठी देखिन सक्छन्, हर्मोनमा आउने सामान्य परिवर्तनका कारण यस्तो हुन्छ । यिनीहरूमध्ये करिब ५ प्रतिशत मात्रै पछि गएर क्यान्सरका कारण बन्छन् । पुरुषको तुलनामा महिलामा गलगाँडको समस्या बढी देखापर्छ । किशोरावस्थामा हर्मोनमा अत्यधिक वृद्धि हुने गर्नाले यो वेला गलगाँडको समस्या देखिन्छ । तर, निश्चित उमेरपछि यो बिस्तारै आफैँ निको हुन्छ । 

कारण

–थाइराइड ग्रन्थीले थाइराइड हर्मोन आवश्यकताभन्दा बढी उत्पादन गरेमा घाँटीमा डल्लो देखापर्छ । थाइराइडले उत्पादन गर्ने टिथ्री टिफोर नामक हर्मोन अत्यधिक वृद्धि हुँदा गलगाँड हुने गर्छ । जसलाई चिकित्सकीय भाषामा हाइपर थाइराइडिजम भनिन्छ । 
–शरीरमा आयोडिनको कमीका कारण थाइराइड हुने गर्छ । यसबाहेक टिएसएच नामक हर्मोनको अत्यधिक वृद्धिबाट समेत यो समस्या देखिन्छ । यसलाई हाइपोथाइराइडिजम भनिन्छ । 
–थाइराइडमा पलाउने ट्युमरबाट गलगाँड हुने गर्छ । अनावश्यक रूपमा यसरी पलाउने गिर्खा क्यान्सर र विनाय गरी दुई किसिमका हुन्छन् । विनाय पानीका फोका हुन्, जसबाट क्यान्सर हुँदैन ।

लक्षण

–गलगाँड हुँदा समान्यतया घाँटीमा गाँड देखापर्छ । हेर्दा प्रस्ट देखिने यस्तो गिर्खा ठूलो हुँदै गएमा विभिन्न समस्या देखापर्न थाल्छ । 
–स्वरमा समस्या देखापर्नु, विभिन्न ग्रन्थीमा समस्या देखिनु मानिस दुब्लाएर जानु, पसिना आउनु, मुटुको धड्कन बढ्नु, रक्तचाप वृद्धि, भोक लाग्नु तथा खाना बढी खान मन लागे पनि नपच्नेजस्ता लक्षण देखिन्छन् ।
 
रोकथाम तथा उपचार

–गलगाँड हुनुको मुख्य कारण शरीरमा आयोडिनको कमी हो । त्यसैले, आयोडिन खानुपर्छ । 
–न्युक्लियर र रेडिएसनको सम्पर्कमा रहने मानिसलाई थाइराइडको समस्या हुने भएकाले एक्सरे, रेडियो वा लाइट आदिमा काम गर्ने मानिसले ध्यान दिनुपर्छ । 
–रगतको जाँच, भिडियो एक्सरे, रेडियो एक्टिभ विधिबाट गरिने थाइराइड स्क्यान, सिटी स्क्यान तथा एमआरआई विधिबाट गलगाँड कुन अवस्थामा छ भन्ने पत्ता लगाउन सकिन्छ ।
–सामान्यतया १ सेन्टिमिटरभन्दा मुनिका गिर्खाले खासै असर गर्दैनन् । करिब ६ महिनादेखि १ वर्षको अन्तरालमा गिर्खा बढेको पत्ता लगाउन जाँच गर्नुपर्ने हुन्छ । अरू ग्रन्थी सुन्निनु र घाँटीमा समस्या देखापर्नु आदि लक्षण देखिएमा गिर्खामा क्यान्सर हुन सक्ने भएकाले समयमै उपचार गर्नुपर्छ । 
–औषधिको प्रयोगले गलगाँड निको पार्न सकिन्छ । ट्युमरको उपचार शल्यक्रियाको माध्यमबाट पनि गरिन्छ । तर, क्यान्सरको पूर्ण शल्यक्रियापछि भने थाइराइक्सन नामक औषधि र क्याल्सियम जीवनभर खाइराख्नुपर्छ । –नया पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस