के ‘हजार जुनीसम्म’ र ‘दयारानी’ बलिउड चलचित्र ‘साहो’सँग भिड्न सक्लान ?

विदेशी फिल्मले नेपालमा आफ्नो बजार बलियो बनाउँदै

सफल खबर संवाददाता

बुधबार, ०४ असार २०७६, १९ : १६
के ‘हजार जुनीसम्म’ र ‘दयारानी’ बलिउड चलचित्र ‘साहो’सँग भिड्न सक्लान ?

काठमाडौं । नेपालमा विदेशी चलचित्रको दबदबा चर्को छ । आशा गरिएका हलिउड वा बलिउड चलचित्रले नेपालमा करोडौं छापेका उदाहरण छन् ।

नेपाली दर्शकहरु पनि आफ्नै मुलुकको चलचित्रभन्दा विदेशी फिल्मप्रति नै बढी चासो राख्ने गर्दछन् । नेपाली फिल्म भनेपछि नाक खुम्च्याउन अझै छाडेका छैनन् । यसको प्रमुख कारण नेपालमा गुणस्तरिय कम पट्यारलाग्दा फिल्मको बोलबाला बढी छ ।

नेपाली फिल्मले घरेलु दर्शक आकर्षित गर्न चुकिरहेको अवस्थामा विदेशी फिल्मले नेपालमा आफ्नो बजार बलियो बनाउँदै गएको छ । मल्टीप्लेक्सको विस्तार भएसँगै नेपालमा अझ विदेशी चलचित्रले प्रभुत्व बढ्दो छ । यसैले त प्रतिक्षीत विदेशी फिल्मसँग भिड्न तयार हुँदैनन् नेपाली फिल्मका निर्माताहरु । हलमा पानी पनि भन्न नपाउने अवस्था सृजना हुनुभन्दा लाखापाखा लाग्नु नै निको ठान्दछन् ।

फिल्म ‘दाल भात तरकारी’ तात्तातो उदाहरण हो । हलिउडको बहुप्रतिक्षित फिल्म ‘एभेञ्जरः इन्ड गेम’ को डरले यो फिल्म पूर्व घोषित मितिभन्दा एकहप्ता पछि सर्‍यो । चलचित्र ‘जात्रैजात्रा’ पनि बलिउड फिल्म ‘स्टूडेन्ट अफ दि ईयर २’ का कारण एकहप्ता पछि सरेको थियो । अब, साउन ३० गते प्रदर्शनमा आउन लागेका दुई नेपाली फिल्म ‘हजार जुनीसम्म’ र ‘दयारानी’ पनि एक विदेशी फिल्मका कारण कुना पस्ने सम्भावना बढेको छ ।

यो मितिमा साउथका सुपरस्टार प्रभास अभिनीत बहुप्रतिक्षीत फिल्म ‘साहो’ रिलिज हुँदैछ । गएको पाँच दिनअगाडि यस फिल्मको धमाकेदार टीजर सार्वजनिक भयो । हिन्दीसहित यो फिल्म चार भाषामा बनेको छ । ‘बाहुबली २’ पछि पर्दामा फर्किन लागेका प्रभास स्टारर यस फिल्मको नेपालमा व्यग्र प्रतिक्षा भइरहेको छ । बलिउड अभिनेत्री श्रद्धा कपूरको पनि यसमा अभिनय छ । फिल्मलाई सुजीतले निर्देशन गरेका हुन् ।

यो फिल्मले साउन ३० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै टीजर सार्वजनिक गरेपछि सोही मितिमा प्रदर्शनका लागि तयार भएका दुई नेपाली फिल्म ‘हजार जुनीसम्म’ र ‘दयारानी’का निर्मातालाई ठूलो तनाव आइरहेको छ । दुवै चलचित्रका निर्माता प्रदर्शन मिति सार्ने मनस्थितिमा रहेको स्रोत बताउँछ । तर, अहिलेसम्म आधिकारिक जानकारी प्राप्त भएको छ । सम्भवतः दुई फिल्म आउँदो तीजकोे छेकोमा रिलिज हुन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस