बिमिराको उपचार गर्नु पर्दैन

मंगलबार, ०३ असार २०७६, २१ : ५१
बिमिराको उपचार गर्नु पर्दैन

डा. धर्मेन्‍द्र कर्ण, सौन्दर्य विशेषज्ञ

काठमाडौं । आँखा, नाक, गाला वरपरको छालामा कडा खालको सेतो मसिना दाना आउने समस्यालाई मेडिकल भाषामा ‘मिलिया’ भनिन्छ। यो छालासँग सम्बन्धी कुनै रोग होइन। यस्ता बिमिराका कारण अनुहारको सौन्दर्यमा असर गर्‍यो भन्ने लागेमा मात्र यसको उपचार गराउनुपर्छ। अन्यथा, यसलाई यत्तिकै छोडिदिँदा पनि खासै फरक पर्दैन। यसलाई ‘मिल्क स्पट’ र ‘अइल सिड’ समेत भनिन्छ। यो धेरैजसो आँखाको तल, नाक, गाला, निधार र छातीमा आउने गर्छ।

यो आउँदैमा आत्तिनु पर्दैन। न त यसको कुनै उपचार नै आवश्यक हुन्छ। तर, सौन्दर्य प्रभावित हुन लाग्दा केही चिकित्सकीय प्रक्रिया अपनाउन सकिन्छ। मिलियाले तैलीय छाला भएकाको दाँजोमा सुक्खा छाला भएकालाई बढी प्रभावित गर्छ। यो करिब एकदेखि दुई मिलिमिटरको सेतो छालाको दाना हो। यो सेतो दानाजस्तै छालामा देखिन्छ। यो केराटिनको कारणले हुन्छ। अर्थात्, यो केराटिनले भरिएको सिस्ट हो। जो छालाको सतहभन्दा मुनि फस्छ। यो हाम्रो स्वास्थ्यका लागि घातक हुँदैन।

केराटिन मानव शरीरमा पाइने यस्तो प्रोटिन समूह हो, जसले रौँ, छाला र नङको निर्माण हुन्छ। सामान्य भाषामा भन्ने हो भने– जब छालाको मृत कोषिका छालामाथि आउँछ, तब यसैले मिलियाको रूप लिन्छ।

मिलिया अनुहारमा देखिने ह्वाइटहेड होइन। यो ह्वाइट हेडभन्दा फरक हुन्छ। ह्वाइट हेडमा पीप हुन्छ तर यो पीपले भरिएको हुँदैन। यो डन्डीफोर वा छालाको संक्रमणजस्तो पनि होइन। छालामा देखिने सेतो, पहेँलो दाना हो। दानाजस्तै हुने यो बिमिरा कुनै पनि उमेरमा हुन सक्छ। तर, यो समस्या सबैभन्दा बढी बच्चा र त्यसपछि युवामा देखिन्छ।

हेर्दा अनुहार भद्दा लाग्ने यो समस्या उपचारबिनासमेत समाप्त हुन्छ। तर, यदि तपाईं मिलियालाई आफ्नो अनुहारको लागि समस्या नै भएको ठान्नुहुन्छ भने छाला रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ। यो मृत कोषिकाले गर्दा हुने भएकाले केही सातामा आफैँ निको हुन सक्छ। यसलाई चिथोर्ने वा आफैँले निकाल्ने प्रयास गर्नु हुँदैन। चिथोर्दा यसले समस्या दिन सक्छ। चिथोर्दा, कोट्याउँदा यसले छाला पोल्नुको साथै चिलाउने समस्या वा संक्रमणसमेत हुन सक्छ। यति मात्र नभई यसले गर्दा छालामा दागसमेत बस्न सक्छ।

करिब आधाजति नवजात शिशुको अनुहारमा मिलिया विकसित हुन्छ तर यो जन्मको केही सातापछि आफैँ निको हुन्छ। वयस्कमा छालाको कुनै पनि प्रकारको चोटको परिणमस्वरूप मिलिया हुन सक्छ। यो छालालाई निको पार्न विकसित भएको हुन सक्छ।

मुख्य रूपमा युवामा मिलियालाई त्यसै छोड्दासमेत आफैँ निको भएर जान्छ। धेरैजसो व्यक्तिमा मिलिया हुने कुनै चिकित्सकीय कारण हुँदैन। यसको उपचारका लागि मिलिया हुने कारण खुट्याउनुपर्छ। छाला रोग विशेषज्ञले तपाईंको शरीरमा मिलिया हुने कारण पत्ता लगाएर यसबाट उन्मुक्ति दिन सघाउन सक्छन्। 

निर्मलीकरण गरिएको सुईको माध्यमले यसलाई सजिलै झिक्न सकिन्छ। तर, यो इलेक्ट्रोकोटरी (विद्युतको माध्यमले डढाउने पद्धति)ले समेत हटाउन सकिन्छ। ट्रपिकल रेटिनोइड्स यसको उपचारमा उपयोगी मानिएको छ। 

सूर्यको हानिकारक किरणले मिलियाको समस्यालाई झन् बढाउन सक्छ। मिलिया प्रभावितले अनुहारलाई सूर्यको हानिकारक किरणबाट जोगाउन फाइदाजनक हुन सक्छ। मिलियाग्रस्त महिलाले यसलाई लुकाउन अनुहारमा बढी कस्मेटिकको उपयोग गरेको देखिन्छ। कस्मेटिक उत्पादनले अनुहारको छालाको रोम छिद्रलाई बन्द गर्छ। यसले छाला बढी प्रभावित हुनुको साथै मिलियामा समेत वृद्घि भई छालाको अन्य समस्यासमेत देखिन सक्छ। तातो पानीमा तौलियालाई भिजाएर यसलाई निचोरेर अनुहार छोप्दा फाइदा पुग्छ। यो अनुहारमा बाफ लिनुजत्तिकै फाइदाजनक हुन सक्छ। यसले गर्दा अनुहारको छालाको बन्द भएको रोमछिद्र खुला हुन्छ र अनुहारको छालाको मृत तहसमेत निस्किन्छ। मिलियाले तैलीय छालाको दाँजोमा सुक्खा छालालाई बढी प्रभावित गर्ने पाइएको छ। सुक्खा छालाको कोषिका सहजै छालाको माथिल्लो तहसम्म आउँछ। यसैले दिनहुँ अनुहारलाई पानीले सफा राख्नुपर्छ। सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस