हरेक क्षेत्रमा निहुँ खोज्ने काँग्रेसले संसदमा आश्चर्यजनक व्यवहार देखायो : प्रधानमन्त्री ओली

देशमा अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी देखिएको भनाइ

सफल खबर संवाददाता

मंगलबार, ०३ असार २०७६, १८ : १३
हरेक क्षेत्रमा निहुँ खोज्ने काँग्रेसले संसदमा आश्चर्यजनक व्यवहार देखायो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक क्षेत्रमा निहुँ खोज्ने नेपाली काँग्रेसले संसदमा आश्चर्यजनक व्यवहार गरेको बताएका छन । 
मंगलबार साँझ सिंहदरवारमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले आफूलाई संसदमा बोल्न नदिन काँग्रेसका नेता तथा सभापति शेरबहादुर देउवा नै वेल घेर्न गएकोमा आश्चार्य लागेको बताएका हुन ।

उनले भने, ‘प्रधानमन्त्रीले संसदमा बोल्न समय लिइसकेपछि प्रधानमन्त्रीभन्दा अगाडि आफूले बोल्न पाउनुपर्छ भन्ने लोकतन्त्रमा कहीँ हुँदैन । प्रधानमन्त्रीलाई बोल्न रोक्न कुनै विषयमा मतभेद पनि होइन । पहिला प्रधानमन्त्री र त्यसपछि प्रतिपक्षी दलको नेताले बोल्ने विश्वव्यापी प्रचलन हो’ । ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने कुरा, प्रधानमन्त्रीले भन्दा पहिले आफूले बोल्नुपर्छ भन्ने बालहठ देखाएको बताए ।
प्रधानमन्त्रीले संसदमा बोल्न नपाएपछि पत्रकार सम्मेलन नगरेको भन्दै संसदमा अमर्यादित कृयाकलाप भएपछि देशवासीको ध्यानाकर्षण मात्र गराएको बताए ।

प्रधानमन्त्री ओलीले विधेयकका नाममा लोकतन्त्रको जरा काट्ने काम भएको बताए । उनले भने, ‘आज लोकतन्त्र, गणतन्त्र, संघीयताविरुद्ध, जनताको सार्वभौमसत्ताविरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी स्पष्ट ढंगले देखिएको छ । घोर दक्षिणदेखि घोर वामपन्थी समेत एकजुट भएका छन् ।’ यसप्रति सजग हुनुपर्ने कांग्रेस आफैं परिर्वतनकारी शक्तिहरुलाई विथोल्न लागेको उनको आरोप छ ।

परिवर्तनकारी शक्तिहरु नमिल्दा र प्रतिकृयावादी शक्तिसँग मिलेकाले नै २००७ सात सालपछि संविधान बन्न लामो समय लागेको भन्दै प्रधानमन्त्री ओलीले २०१७ को घटना भएको स्मरण गराए । लोकतान्त्रिक आवरणभित्र प्रतिकृयावदी र प्रतिगामी र संकिर्णवादी चरित्र रहेको प्रधानमन्त्रीको भनाई छ ।

उनले काँग्रेसको यस्तै चरित्र रहे लोकतान्त्रिक अभ्यास अघि बढ्न नसक्ने चेतावनी दिए । प्राप्त उपलव्धिको रक्षा गर्नु सवैको दायित्व रहेको भन्दै उनले वर्तमान सरकार लोकतन्त्र र रष्ट्रियताप्रति दृढसंकल्प रहेको बताए ।

प्रतिक्रिया दिनुहोस