प्रधानाध्यापकको कुटाइबाट एक विद्यार्थी अर्धचेत, ५ जना घाइते

सफल खबर संवाददाता

सोमबार, ०२ असार २०७६, १९ : ४१
प्रधानाध्यापकको कुटाइबाट एक विद्यार्थी अर्धचेत, ५ जना घाइते

सर्लाही । बागमती सामुदायिक आधारभूत विद्यालय बरहथवा नगरपालिका–१ हजरिया, सर्लाहीका प्रधानाध्यापकको कुटाइबाट सोमबार एक विद्यार्थी अर्धचेत भएका छन् । विद्यालयका प्रधानाध्यापक महेन्द्र रायको कुटाइबाट कक्षा ३ मा अध्ययनरत संजीव सहनी अर्धचेत भएका हुन् ।  संजिवको बरहथवा बजारस्थित भेनस अस्पतालमा उपचार भइरहेको छ ।कुटाइबाट अन्य ५ जना सामान्य घाइते भएका छन् ।

प्रअ रायले आफूसहित अन्य ५ जना विद्यार्थीलाई कुटेको घाइते संजीवले बताए । ‘बिहान लाईनमा बस्दा भनेअनुसार नगरेको भन्दै सरले पहिला लाठीले पिट्नुभयो र लाठी भाँच्चिएपछि मुक्का प्रहार गर्नुभयो’, संजीवले भने, ‘त्यसपछि म भक्लकै ढलेँ, केही थाहा भएन, अस्पतालमा उपचार भइरहेको रहेछ।’ प्रअ रायले आफूसँगै ३ कक्षामै अध्ययनरत तेतरी देवी, विसुन्दर सहनी, सन्तानु सहनी, विवेक सहनी लगायतलाई समेत निर्घात कुटपीट गरेको संजीवले बताए ।

प्रअ रायले भने आफूले विद्यार्थीमाथि निर्घात कुटपीट नगरेको दाबी गरेका छन् । ‘मैले पिटी खेलाउने क्रममा भनेअनुसार नगरेपछि अनुशासन कायम राख्न सामान्य कुटपिट गरेको हुँ’, प्रअ रायले दाबी गरे, ‘निकैबेर पिटी खेलाएपछि विद्यार्थीहरु थाकेर लडेका हुन सक्छन्, कुटाईबाटै भने कोही पनि लडेका छैनन् ।’

सोही विद्यालयका शिक्षक भूनेश्वर सहनीले भने बिहान लाइनमा बस्ने क्रममा सिधा नबसेको र पिटी खेलाउने क्रममा भनेअनुसार नगरेको भन्दै प्रधानाध्यापकले विद्यार्थीमाथि कुटपिट गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस