एमबीबीएस पढ्ने विद्यार्थीसँग मनोमानी शुल्क असुल्दै चितवन मेडिकल कलेज

विहीबार, ११ माघ २०७४, १२ : ५३
एमबीबीएस पढ्ने विद्यार्थीसँग मनोमानी शुल्क असुल्दै चितवन मेडिकल कलेज

चितवन । चितवन मेडिकल कलेजले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीसँग त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्ष्टिच्युट अफ मेडिसिन (आइओएम) ले तोकेको शुल्कभन्दा १२ लाख रुपैयाँ बढी लिने गरेको पाइएको छ  । 
जिल्ला प्रशासन कार्यालय चितवनले गरेको अनुगमनका क्रममा कलेजले एमबीबीएस अध्यानका लागि नयाँ भर्नामा सरकारले तोकेको ४२ लाख ४५ हजारबाहेक विभिन्न शीर्षकमा थप १२ लाख  लिने गरेको भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओमनारायण शर्माले बताए । सरकारी नियम र आधारबिनै कलेजले मनोमानी रुपमा बढी रकम लिने गरेको देखिएको हो ।  
आफुहरुलाई आएको शुल्क निर्धारण पत्रमा पनि ट्युसन, लाईब्रेरी वा अन्य विभिन्न शीर्षकमा कलेजले केही रकम लिन पाउने भन्ने परिपत्र भएकोले कलेजको नियम अनुसार नयाँ भर्ना हुन आउने विद्यार्थीसँग भर्ना हुने क्रममा ६ लाख र कक्षा संचालन अवधिमा ६ लाख गरी १२ लाख रुपैयाँ बढी लिने गरेको कलेज प्रशासनले स्वीकार गरेको छ ।
कलेजले कति लिन पाउने भन्ने बिषयमा एकिन नहुँदा कलेजले विद्यार्थीसँग मनपरी रकम लिने गरेको भेटिएको र त्यो आफैमा जायज नभएको शर्माले बताए । आफूहरुले कलेजमा कति विद्यार्थी भर्ना भए ? उनीहरुले कति रकम तिरेका छन् भन्ने बिषयमा पत्ता लगाउन बैंक भौचर रसिदको प्रतिलिपी आफूहरुले लिएको शर्माले बताए ।
आईओएमले केही शुल्क लिन पाउने भनेकाले आफूहरुले त्यही आधारमा शुल्क लिएको र त्यसको बारेमा आईओएमलाई पनि जानकारी दिएको कलेज प्रशासनका अधिकारीहरु बताउँछन् । 
चितवन मेडिकल कलेजले ९० वटा कोटा पाएको छ । त्योमध्ये कोटाको ९ वटा सिटमा निःशुल्क पढाउनु पर्ने र बाँकी सबै आईओएमले नै विद्यार्थी भर्ना गरी कलेजमा पठाउने नियम भएकाले आफुहरुले चाहेर पनि भर्नामा कुनै फेरबदल गर्न नसक्ने कलेज व्यवस्थापक इन्दिरा नेपालले बताइन् । 
उनले आफूहरुलाई आईओएमले दिएको निर्देशन र अधिकारबिना केही नगरेको र नगर्ने दाबी गरिन् । कलेजले विभिन्न ११ संकायमा पठनपाठन गराउँदै आएको छ । एमबीबीएस अध्ययन नियमनका लागि सरकारले प्रभावकारी नियम बनाएको बताएपनि त्यसका केही खुकुला बिन्दुलाई खोतल्दै कलेज संचालकले विद्यार्थीसँग चर्को शुल्क असुली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस