यौनजन्य सामग्रीको कुलत टिनएजरका लागि घातक

आइतबार, ०१ असार २०७६, १३ : १०
यौनजन्य सामग्रीको कुलत टिनएजरका लागि घातक

- मञ्जु टेलर 
काठमाडाैं  । यौनजन्य सामग्री अहिले सबैका लागि सजह पहुँचको विषय बनेको छ । हातहातमा मोबाइल र इन्टरनेटको सहज सुविधाका कारण यस्ता सामग्री चाहेको वेला जो–सुकैले सजिलै हेर्न सक्छन् । यौनइच्छा र यौनसम्बन्धी जिज्ञासा हुनु स्वाभाविक हो, तर समाजमा यसले पार्ने साइड इफेक्टबारे ध्यान नदिई यस्ता सामग्री प्रयोगमा ल्याउनु गलत हो । समाजमा यौनहिंसा नियन्त्रण गर्नकै लागि भनेर पछिल्लो समयमा सरकारले धेरै पोर्न साइटमाथि प्रतिबन्ध लगाएको छ । तर, यस्ता सामग्री इन्टेरनेटमा सजिलै उपलब्ध हुने भएकाले पूर्ण रूपमा प्रतिबन्ध लगाउन सम्भव भएन । पोर्न सामग्रीले यौनसम्बन्धी पर्याप्त जानकारी नभएका विशेषगरी किशोर–किशोरीको स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ । जसले गर्दा उनीहरूको जीवनशैलीमा नै परिवर्तन ल्याइदिन्छ । यौनजन्य सामग्रीले पार्ने असर यस्ता छन् :

डा. करुणा कुँवर
मनोविद्

मस्तिष्कमा असर
खासगरी किशोर–किशोरीमा यौनसम्बन्धी पर्याप्त जानकारी हुँदैन । उनीहरूको कलिलो दिमागले सही वा गलत के हो भन्ने छुट्याउन सक्दैन । जसले गर्दा उनीहरूमा यस्ता सामग्री हेर्न लत लाग्न सक्छ । नियमित यस्ता सामग्री हेर्दा दिमागमा यौनजन्य कुराले ओगट्न थाल्छ । अनिद्रा, बेचैनीजस्ता समस्या निम्त्याउँछ । साथै यौनजन्य साम्रगी हेर्ने उत्सुकताले मस्तिष्कको विकासमा समेत असर पुर्‍याउँछ ।  

पढाइमा असर
फिल्म हेर्ने बानी लागेकालाई एक ठाँउमा ध्यान केन्द्रित गर्न निकै गाह्रो हुने गर्छ । दिमागमा सधैँ कुरा खेलिरहने भएकाले पढाइमा समेत ध्यान जाँदैन । फलस्वरूप पढाइ नै बिग्रने डर रहन्छ । 

एक्लोपना
अश्लील सामग्री हेर्ने बानी भएपछि त्यसको सबैभन्दा खराब असर उनीहरूको जीवनशैलीमा पर्छ । लत बसिसकेपछि उनीहरू एकान्तमा बस्न रुचाउछन्, जहाँ यौनबारे सोच्न अनुकूलता मिल्छ । साथीभाइको सर्कलबाट टाढा बस्छन् । परिवारमा घुलमिल हुँदैनन्, फलस्वरूप सम्बन्ध बिग्रँदै जान्छ । यस्ता क्रियाकलापले किशोर–किशोरीमा आत्महत्या गर्ने, असामाजिक हुने तथा अन्य कुलतमा फस्नेजस्ता समस्या निम्त्याँउछ  ।   

हिंसामा सहभागी हुने
यौनजन्य सामग्रीमा कृत्रिम विषय बढी देखाइएको हुन्छ । जसले गर्दा उनीहरूले प्राकृतिक विषयमाथि ज्ञान हुँदैन । यसले गर्दा उनीहरूमा यौनको चाहना बढ्दै जान्छ । यौनको अनुकूलता नहुँदा हिंसा गर्न पुग्छन् । सानै उमेरमा यौनहिंसामा लागेका कतिपय बालबालिका बालसुधारगृहमा भेटिने गरेका छन्, जसको मुख्य कारण पोर्न फिल्म हो । 

अस्वस्थता
किशोरावस्था उत्सुकताको अवस्था हो । यौनको विषयमा खुलेर कुरा गर्ने वातावरण नपाउँदा उनीहरूले आफ्नो कुण्ठा आफैँमा गुम्स्याएर राख्ने गर्छन् । जिज्ञासा मेटाउन लुकिछिपी यौन सामग्री हेर्ने बानी पर्दै जान्छ । बिस्तारै विचलित हुने, चिन्तित देखिने तथा डराउने खालका समस्या देखिन्छन् । जसले गर्दा उनीहरूको मस्तिष्कसँगै शारीरिक स्वास्थ्यमा पनि असर पुग्ने गर्छ । - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस