यसकारण अत्यावश्यक छ भिटामिन डी

शुक्रबार, ३१ जेठ २०७६, १५ : १२
यसकारण अत्यावश्यक छ भिटामिन डी

- डा. अभिनव दाहाल,इन्टर्नल मेडिसिन काठमाडौं मोडेल अस्पताल
काठमाडाैं  । शरीरमा अत्यावश्यक भिटामिनमध्येको एक हो, भिटामिन डी । भिटामिन डीको मुख्य स्रोत बिहानीपखको घाम हो । यसबाहेक दूध, अन्डा, माछा र च्याउ आदि भिटामिन डीका स्रोत हुन् । हाम्रो शरीरमा भिटामिनको कमी हुँदा ज्यादा थकाइ लाग्ने, हड्डी कमजोर हुने, जोर्नी दुख्ने र कतिपय अवस्थामा हड्डी चर्किने समस्या हुन्छ । बालबालिकाको शारीरिक वृद्धि विकासमा असर पर्छ । अब जानौँ, भिटामिन डीको आवश्यकताबारे :

स्वस्थ हड्डी 
भिटामिन डी दाँत र हड्डीका लागि अत्यावश्यक हुन्छ । जसले शरीरमा क्याल्सियम र फोस्फोरसको सन्तुलन मिलाएर हड्डी बलियो बनाउँछ । खानाबाट क्याल्सियमको मात्रा लिने भएकाले हड्डी नरम भएर हुने विभिन्न समस्याबाट बचाउँछ । 
प्रतिरोधी क्षमता वृद्धि
भिटामिन डीले प्रतिरोधी क्षमता बलियो बनाउन मद्दत गर्छ । त्यस्तै, स्नायु प्रणाली र मस्तिष्क विकासका लागि पनि भिटामिन डी आवश्यक हुन्छ । दम, डर्मेटाइटिस र दादको जोखिम कम गर्छ । 

फ्लुको जोखिम कम गर्न
फ्लुको जोखिम कम गर्न संसारभर बालबालिकालाई भिटामिन डीको सप्लिमेन्ट दिइन्छ । जसबाट उनीहरूमा इन्फ्लुएन्जाको संक्रमणबाट बचाउन सकिन्छ । 

मधुमेहबाट बच्न 
शरीरमा प्रशस्त मात्रामा भिटामिन डीको मात्रा भएमा मधुमेहको जोखिम रहँदैन । यसले रगतमा ग्लुकोज र इन्सुलिनको मात्रालाई नियन्त्रण गर्छ । एक अध्ययनअनुसार बाल्यावस्थामा भिटामिन डीको पूर्ण सेवन गरेका मानिसमा मधुमेहको जोखिम ८८ प्रतिशत घट्छ । 

गर्भावस्थामा आउन सक्ने जोखिम घटाउन
भिटामिन डीको कमीले गर्भावस्थामा आउन सक्ने जोखिम बढ्छ । जसले गर्दा बच्चा जन्माउँदा शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्छ । त्यस्तै, गर्भवतीमा मधुमेह र ब्याक्टेरियल भ्याग्नोसिसजस्ता समस्या हुन सक्छ । यसले गर्भमा रहेको बच्चालाई असर पार्छ । जन्मिने बच्चामा अपांगता हुने सम्भावना हुन्छ । त्यसैगरी, भिटामिन डीको कमीले महिलामा रजस्वलापछि समस्या देखिन्छ । 

क्यान्सरबाट जोगिन
भिटामिन डी कोष वृद्धि र सञ्चारका लागि एकदमै महत्वपूर्ण हुन्छ । मानव शरीरमा दुई सयभन्दा बढी जिनमा भिटामिन डीले प्रभाव पारिरहेको हुन्छ । त्यस्तै, क्यान्सर न्यूनीकरण गर्ने क्यालसिट्रिओल नामक हर्मोन उत्पादनमा सहयोग गर्छ । भिटामिन डी नियमित सेवन गरेमा कार्डियो भास्कुलर रोग, हड्डीमा समस्या, हाइपरटेन्सन, अल्जाइमर, फ्लुजस्ता रोगबाट बच्न सकिन्छ ।  - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस