दस लाख बढी विद्यार्थी हराएपछि गगन थापाले भने– ती कसका सन्तान हुन् ?

सफल खबर संवाददाता

विहीबार, ३० जेठ २०७६, १४ : ३०
दस लाख बढी विद्यार्थी हराएपछि गगन थापाले भने– ती कसका सन्तान हुन् ?

काठमाडौं । नेपालभर २०६४ सालमा कक्षा १ मा १३ लाख विद्यार्थी भर्ना भएका थिए । २०७६ ती विद्यार्थी १२ कक्षामा आइपुगे । कक्षा १ मा भर्ना भएका १३ लाख विद्यार्थी १२ कक्षामा आइपुग्दा २ लाख ९० हजारमात्र बाँकी रहे । बाँकी विद्यार्थी कहाँ हराए ? 

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले एक कक्षामा भर्ना भएर १२ कक्षामा आइपुग्दा १० लाख ४४ हजार विद्यार्थी हराएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले ०६४ मा कक्षा १ कक्षामा भर्ना भएकामध्ये १२ को परीक्षासम्म आइपुग्दा १० लाख ४४ हजार विद्यार्थी हराउने कसका सन्तान हुन् भनेर प्रश्न गरेका थिए । 

‘०६४ सालमा १ कक्षामा १३ लाख विद्यार्थी भर्ना भए । अहिले ०७६ सालमा १२ कक्षाको परीक्षा दिँदै गर्दा २ लाख ९० हजार मात्र बाँकी रहे । १० लाख ४४ हजार विद्यार्थी हराए’ सांसद थापाले प्रतिनिधि सभामा भने, “विद्यालयमा नटिक्ने विद्यार्थीहरु कसका छोराछोरी हुन्  ? तपाईं–हाम्रा हुन् ? पक्कै होइनन् । जो विद्यालयमा टिकेका छन् उनीहरुले कति सिके भनेर हेर्यौ भने सरकार भन्छ– कुनै पनि विद्यार्थीले कुनै पनि विषयमा ५० प्रतिशतभन्दा बढी सिकेन ।’ 

अंग्रेजी, गणित र विज्ञानको अवस्था हेर्दा सिकाइ झन् कम भएको उनले बताए । ती नसिक्ने विद्यार्थीहरु पनि सांसदका सन्तान नभएको उनको भनाइ छ ।

३६ हजारभन्दा बढी प्रारम्भिक बाल विकास केन्द्र देशमा रहेकोमा योग्य शिक्षकले नभई ८ कक्षा उत्तीर्ण गरेकाहरुले ६ हजारभन्दा कम तलबमा पढाइरहेको थापाले बताए । ‘तर, संविधानले यसो गर्न पाइँदैन भन्छ । लेखेको कुरा जे छ, त्यो हामी गरिरहेका छैनौं । यो राष्ट्रिय लज्जाको विषय हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस