खाली पेटमा लिची खानु हानिकारक, यस्तो समस्या आउन सक्छ

एजेन्सी

विहीबार, ३० जेठ २०७६, १३ : २८
खाली पेटमा लिची खानु हानिकारक, यस्तो समस्या आउन सक्छ

तपाइँ खाली पेटमा लिची सेवन गर्नुभएको छ ? खाली पेटमा लिची खाँदै हुनुहुन्छ भने तत्काल छोड्नुहोला, नत्र तपाइँको ज्यान पनि जान सक्ने खतरा छ । भारतको बिहारमा विगत दुई दशकदेखि अज्ञात रोगका कारण बर्सेनि एक सयभन्दा बढी बालबालिकाको मृत्यु भएपछि गरेको लामो अनुुसन्धानपछि मृत्युको कारण खुल्यो, कारण थियो–खाली पेटमा लिची खानु । 

अमेरिकी र भारतीय चिकित्सकहरु सम्मिलित अनुसन्धान टोलीले ती बालबालिकाको मृत्युको कारण खाली पेटमा खाने लिचीलाई मानेको छ।

दिउँसोभरि खेलिरहेका, रमाइरहेका बालबालिका राति अकस्मात छटपटाएर ढल्ने गर्दथे। स्वस्थ बालबालिकाको एक्कासी हुने निधनले चिकित्सकसमेत अमलममा परेका थिए। 

तर, एउटा गहन खोजले ती बालबालिकाको मृत्युको कारण पत्ता लगाएको छ।  अनुसन्धान प्रतिवेदनको खुलासा छ, खाली पेटमा बच्चाहरुले खाने गरेको लिची नै उनीहरुको मृत्युको कारण हो। खासगरी लिची फल्ने महिना मेदेखि जुलाईसम्ममा ती बालबालिकाको मृत्यु हुने गरेको थियो।

मेडिकल जर्नल दि ल्यानसेटमा प्रकाशित अनुसन्धान अनुसार ती बालबालिका खाली पेटमा लिची खाएकै कारण ढल्ने गरेका थिए। लिचीमा पाइने विषालु तत्व हाइपोग्लिसिन त्यसको मुख्य कारक थियो।

लिचीमा पाइने विषालु पर्दाथ हाइपोग्लिसिनले शरीरमा ग्लुकोज उत्पादन गर्ने क्षमतालाई रोकिदिन्छ। अभावका कारण गरिब क्षेत्रका ती बालबालिकाले बिहानदेखि दिउँसोभरि लिची खाएर बेलुका खाना नखाने गरेको अध्ययनले देखाएको छ। बेलुकीको खाना नखाने हुँदा ब्लड सुगरको तह न्यून हुने बालबालिका ग्लुकोजको कमीका कारण बेहोस हुन्थे। जसका कारण उनीहरुको दिमाग सुन्निएको हुन्थ्यो।

लिचीमा हुने हाइपोग्लिसिन नामक विषालू पर्दाथ नै यसको मुख्य कारण थियो। अहिले बिहारका स्वास्थ्य अधिकारीहरुले गरिब क्षेत्रका बालबालिकालाई अनिवार्य रुपमा रातको खाना खुवाउन र लिचीको मात्रा घटाउन भनेका छन्।

चिकित्सकहरुले बच्चामा त्यस्ता लक्षण देखिए लो ब्लड सुगरको तत्कालै उपचार गर्न सुझाब दिइएका छन्। यो अनुसन्धानपछि बिहारको ग्रामीण क्षेत्रमा बिरामी बच्चाको संख्या आधाभन्दा बढीले घटेको ‘न्युयोर्क टाइम्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस