काङ्ग्रेसलाई ऊर्जा दिन अधिवेशन चाहिन्छ  ः डा कोइराला

रासस

बुधबार, २९ जेठ २०७६, २१ : २३
काङ्ग्रेसलाई ऊर्जा दिन अधिवेशन चाहिन्छ  ः डा कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेसलाई ऊर्जा दिन अधिवेशनबाहेक अर्को बाटो नभएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस दाङले भालुवाङमा आज आयोजना गरेको कार्यक्रममा कोइरालाले काङ्ग्रेस तदर्थ वादमा चलाउने हो भने काङ्ग्रेस समाप्त हुने भन्दै अधिवेशनमा जानुपर्ने धारणा व्यक्त गर्नुभयो ।

 “विसं २०७६ फागुनमा चार वर्षको कार्यकाल पूरा हुन्छ तर नेतृत्व पक्षले अझै केही वर्ष अधिवेशन लम्बिन्छ भन्दै हिँड्नुभएको छ काङ्ग्रेस अब तदर्थवादमा चलाउने हो भने समाप्त हुन्छ,  बेलैमा ध्यान दिन जरुरी छ”, कोइरालाले भन्नुभयो । उहाँले अहिले काङ्ग्रेसको प्रदेश, क्षेत्रमा पनि कमिटी बन्न नसकेको भन्दै काङ्ग्रेसको विधानमा सङ्क्रमणकालीन व्यवस्थामा भएकाले तुरुन्त निर्वाचनमा जानुपर्ने सुझाव दिनुभयो ।

कोइरालाले काङ्ग्रेसले पहिलो जागरण अभियान सफतापूर्ण तवरले सम्पन्न गरेको भन्दै अर्को अभियान सँगसँगै अधिवेशनको तयारीमा पनि लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले विधि र विद्यानलाई टेकेर काङ्ग्रेस अगाडि बढ्नुपर्ने बताउनुभयो । “विधि र विधानलाई नटेक्दा काङ्ग्रेसको यस्तो अवस्था आएको हो, विधि र विधानलाई केन्द्रदेखि स्थानीयस्तरसम्म मान्नुपर्छ”, उहाँले भन्नुभयो, “हामीले संस्कार गुमाउँदै गएकाछौँ, नैतिकताको कसिमा पनि बाँधिन सकेका छैनौँ, त्यसतर्फ ध्यान दिनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस