प्रधानमन्त्री रोजगार कार्यक्रममा ४७५ ले पाए रोजगारी

रासस

बुधबार, २९ जेठ २०७६, २० : ३४
प्रधानमन्त्री रोजगार कार्यक्रममा ४७५ ले पाए रोजगारी

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि घोराही उपमहानगरपालिकाले ४७५ युवालाई छनोट गरेको छ । प्रत्येक वडाबाट २५ जनाको दरले १९ वटा वडाबाट  छनोट गरिएको उपमहानरपालिकाले जनाएको छ । विभिन्न योजनामा काम गर्ने गरी उपमहानगरले ३६ योजना छनोट गरेको छ ।  उपमहानगरका रोजगार संयोजक शरद पाण्डेले  उपमहानगरले शुरु गरेको रु ४० हजार देखि ५ लाखसम्मको योजना छनोट भएको जानकारी दिनुभयो । 

उहाँका अनुसार छनोटमा परेका कामदारले सरसफाइ, वृक्षरोपण, कल्भर्ट, कुलो, बगैँचा र  पर्खाल निर्माणजस्ता काम गर्नेछन् । कामदारले दैनिक सात घण्टा काम गर्नुपर्नेछ भने तलब रु  पाँच सय पाउनेछन् । रोजगारीका लागि उपमहानगरपालिकामा १३ हजार २५७ जनाले फाराम भरेका थिए ।  एक महिनाभित्र सक्ने गरी सङ्घीय सरकारले उपमहानगरपालिकालाई  रु एक करोड पठाएको छ । 

प्रतिक्रिया दिनुहोस