पुरानो मेडिकल कलेजमा फेरि शुरु भयो मिर्गाैला प्रत्यारोपण

सफल खबर संवाददाता

बुधबार, २९ जेठ २०७६, १६ : २०
पुरानो मेडिकल कलेजमा फेरि शुरु भयो मिर्गाैला प्रत्यारोपण

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ अस्पतालमा लामो समयपछि मिर्गाैला प्रत्यारोपण भएको छ । करिव चार वर्ष अघि नै लाइसेन्स पाएको कलेजले त्यति नै समयको अन्तरालमा तेस्रो मिर्गाैला प्रत्यारोपण गरेको हो ।

गत सोमबार प्राडा राकेश बर्माको टोलीले साढे तीन घण्टा लगाएर भक्तपुर– ६ निवासी ५४ बर्षीय विष्णु गोपाल बतासको मिर्गाैला प्रत्यारोपण गरेको हो । उनलाई २५ बर्षीय आफ्ना भान्जा रिजन बीर जोशीले मिर्गाैला दिएका हन ।
‘७२ घण्टा भयो, प्रत्यारोपण भएका बतासको स्वास्थ्य सुधारोन्मुख छ । हामी खुशी छौँ,’ डा. बर्माले भने । उनले अब दोस्रो केश पनि छिटै गर्ने बताए ।

प्रत्यारोपणका लागि आफ्नो नेतृत्वमा डा. प्रविण जोशी, डा. सुदीपराज केसी, डा. भुषण तिमल्सेना, डा. माधव घिमिरे, डा. वीरेन्द्र यादव लगायतको टोली खटिएको डा. बर्माले बताए ।

प्रत्यारोपण केन्द्रका डा. बर्मा अब भरतपुरमा
सोमबारको प्रत्यारोपणपछि उत्साहित भएका डा. बर्माले पुरानो मेडिकल कलेजमा मिर्गाैला प्रत्यारोपणले नियमितता पाउने दावी गरे । उनले आफूले अब पुरानो मेडिकल कलेजबाट सेवामा निरन्तरता दिने बताए । ‘मैले अब यता नै निरन्तरता दिन्छु । म यता आवद्ध भएर नै यो सेवा सुरु भएको हो,’ डा. बर्माले भने ।
यस अघि उनी भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत थिए । उनले भरतपुरमा कलेजो प्रत्यारोपणको समेत तयारी भएको बताए ।

हाम्रो टोली देशभर फिजिदै छ : डा. पुकारचन्द्र श्रेष्ठ
यता प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले उपत्यका बाहिर प्रत्यारोपण शुरु हुनु राम्रो कुरा भएको बताए । उनले आफ्नो अस्पतालको टोली गएर पुरानो मेडिकल कलेजमा मिर्गाैला प्रत्यारोपण सफल गराएको जानकारी पाएको भन्दै खुशी व्यक्त गरे ।
‘पुरानो मेडिकल कलेजमा अस्ति भएको प्रत्यारोपणमा डा. बर्मासहित अधिकांश डा.क्टर हामी कहाँ ट्रेन्ड भएकाहरु नै हुनुहुन्छ । अब सुमेरु अस्पतालमा पनि हामी कहाँ ट्रेन्ड भएका डाक्टरहरु जानुभएको छ । त्यसैले प्रत्यारोपण केन्द्रमा काम सिकेर सेवा विस्तार गर्नुहुन्छ भने हामीले त्यसलाई अन्यथा लिने कुरा पनि भएन,’ डा. श्रेष्ठले भने ।
उनले प्रत्यारोपण केन्द्र अहिले एकेडेमी जस्तो भएको समेत बताए । ‘हामीसँग सिकेका धेरैले अन्यत्र गएर सेवा दिनु भएको छ । त्यसैले यो एकेडेमीजस्तो भएको छ,’ उनले भने ।
 

प्रतिक्रिया दिनुहोस