रीमाका दुर्दिन !

मंगलबार, २८ जेठ २०७६, २१ : ५५
रीमाका दुर्दिन !

काठमाडौं । रीमा विश्वकर्मा जुन बेला फिल्म उद्योगमा छिरेकी थिइन्, नयाँ छिमलका तीन जना सम्भावनायुक्त अभिनेत्रीहरुको आगमन भएको थियो । रीमाबाहेक अन्य दुई जना थिए, केकी अधिकारी र बेनिशा हमाल ।

केकी र बेनिशाको अवस्था पनि यतिबेला फिल्मरहित भइरहेको छ । धन्न, टेलिभिजनका रियालिटी सोहरुमा अनुहार देखाउन पाइरहेको बेला रीमाले यतिबेला भुवन केसीसँग स्क्रिन सेयर गर्ने अवसर पाएकी छन् ।
लामो ब्रेकपछि फिल्ममा अफर आएपछि अस्वीकार गर्ने कुरा भएन पनि । त्यसैले आफ्नो अपोजिटमा को छ भनेर किन विचार पुर्याउने ? 

त्यसमाथि नेपालका सबैभन्दा रोमान्टिक हिरोको छवि बनाएका भुवन केसीले नै अफर गरेपछि त नाइँ भन्ने मौका पनि रीमाले पाइनन् ।

गएको आइतबार काठमाडौँमा फिल्म मुहूर्तसँगै फिल्म शुरु भएको घोषणा गरियो । यो कार्यक्रममा सबैभन्दा अल्छीलाग्दो कुरा भने भुवन केसीले रीमाको प्रशंसा गरेर नथाक्ने र रीमाले भुवनको प्रशंसा नगरी रहन नसक्ने अवस्था देखेर हो ।

भुवनले पहिलेदेखि नै रीमाको अभिनय मन परेको बताए तर सोध्ने भने उनले रीमाले अभिनय गरेको कुनै फिल्मको नाम पनि स्मरण छैन होला ।

प्रशंसाकै क्रममा रीमाले भनिन्, ‘भुवन दाइजस्तो वरिष्ठ कलाकारसँग स्क्रिन साझेदारी गर्न पाउनु आफैंलाई भाग्यमानी ठानेकी छु ।’ भाग्यमानी होइन रीमा, कस्तो भाग्य लिएर आएकी रहिछौ !  भुवन पुत्र अनमोलसँग स्क्रिन सेयर गर्नुपर्नेमा उनका ‘बा’सँग भिड्नु परिरहेको छ । बरु यसको साटो त टेलिभिजन रियालिटी सो नै राम्रो हुन्थ्यो नि ! कसको बुद्धिमा लाग्यौ यार तिमी ? शुक्रबार बाट 

प्रतिक्रिया दिनुहोस