के हो क्याराटिन हेयर ट्रिटमेन्ट ?

मंगलबार, २८ जेठ २०७६, १८ : ०५
के हो क्याराटिन हेयर ट्रिटमेन्ट ?

- ब्युटिसियन गुणा ताम्राकार, गुणा ब्युटिसियन ट्रेनिङ सेन्टर
काठमाडौं । क्याराटिन हेयर ट्रिटमेन्ट एउटा केमिकल उपचार विधि हो । जसमा फार्मल्डिहाइड, कन्डिसनर तथा क्याराटिनको प्रयोग गरी कपाललाई सीधा, बाक्लो र बलियो बनाइन्छ  । फार्मल्डिहाइडको उपयोगले कपाल लामो समयसम्म सीधा र नरम रहन्छ । क्याराटिनले कपाललाई बलियो बनाउनुका साथै विभिन्न समस्याबाट छुटकारा दिन्छ । 

फाइदा
पछिल्लो समयमा बजारमा क्याराटिन हेयर ट्रिटमेन्ट लोकप्रिय बन्दै गइरहेको छ । कपाल सुक्खा हुने, झर्ने र टुक्रिने समस्याबाट मुक्ति पाउन आजकल अधिकांशले यो उपाय अपनाउने गरेका छन् । साथै, नङ, छाला र रौँ निर्माण गर्न क्याराटिन प्रोटिनको समूह आवश्यक हुन्छ ।

धुवाँ, धुलोलगायत बाहिरी प्रदूषणका कारण कपालमा समस्या हुने गर्छ । त्यस्तै, कपाल कलर गर्ने नाममा प्रयोग गरिने विभिन्न रसायनयुक्त कस्मेटिक सामानको प्रयोगले कपाल टुक्रिने, झर्ने र रुखो हुने गर्छ । यस्तो कपालका लागि क्याराटिन ट्रिटमेन्ट निकै उपयोगी हुन्छ । 

क्याराटिन ट्रिटमेन्टमा ब्रान्डेड कम्पनीका सामान प्रयोग गरिन्छ । जसको कारण कपालमा समस्या हुँदैन । उपचार गरेको करिब पाँच महिनासम्म यो रहन्छ । तीन–चारपटक उपचार गरेपछि कपाल बिस्तारै प्राकृतिक हुँदै जान्छ । 

क्याराटिन ट्रिटमेन्टको मूल्य कम्तीमा पाँच  हजार पर्छ । कपालको अवस्था हेरेर बढी पनि पर्न सक्छ । कपाल कलर गरेको १५ दिनमा नै क्याराटिन ट्रिटमेन्ट गर्न सकिन्छ । - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस