मेहनत गर्ने संस्कार सिकौँ: पूर्वप्रधानमन्त्री नेपाल

रासस

शनिबार, २५ जेठ २०७६, १९ : ४३
मेहनत गर्ने संस्कार सिकौँ: पूर्वप्रधानमन्त्री नेपाल

फाईल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जापानले जस्तै हामीले पनि प्रकृति र इतिहासप्रति गौरव गर्दै संरक्षण र सम्मान गर्ने संस्कार विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।

डा रामप्रसाद दाहालको कृति ‘आँखामा जापान’ नियात्राको यहाँ आज आयोजित कार्यक्रममा लोकार्पण गर्दै उहाँले भन्नुभयो, “मन्दिर होस् वा दरबार ऐतिहासिक प्रत्येक चिजलाई उनीहरुले सम्मान र संरक्षण गरेकै कारण ती क्षेत्र पर्यटकको केन्द्र बन्न सफल भएका हुन् ।”

जापानी जनताको अत्यन्तै मेहनत, विनम्र र मिलनसार संस्कार हामीले सिक्नैपर्नेमा जोड दिँदै वरिष्ठ नेता नेपालले भन्नुभयो, “त्यहाँका जनताको मेहनत, उद्यमशीलता, लगनशीलता, अनुशासन र राष्ट्रप्रेमको भावनाले जापानलाई छोटो समयमै चमत्कारीरुपमा विकासको शिखरमा पु¥याएको छ, उनीहरु जे चिताउँछन्, त्यो तत्कालै पूरा गरेरै देखाउँछन् ।”

मुलुकमा अहिले धेरै ठूलो परिवर्तनको खाँचो रहेको बताउँदै उहाँले आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि अब ढिलाइ हुन्न भन्नुभयो । पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “अब भाषण र कुरा होइन, कामको आवश्यकता छ, मुलुकमा विकास निर्माणको काम छिटो हुने परिस्थिति निर्माण गर्नुपर्छ, काममा सङ्गति मिलाउनुपर्छ, अनुगमन प्रभावकारी तुल्याउनुपर्छ ।”

प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले शहरबाट निष्कने फोहरमैला व्यवस्थापनसँगै अर्गानिक मल उत्पादनको क्षेत्रमा जापानले प्रयोग गरेको प्रविधि नेपालका लागि लाभदायक हुने बताउनुभयो ।
 
मातृशक्ति बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित उक्त कार्यक्रममा वरिष्ठ इतिहासकार दिनेशराज पन्तले सार्वजनिकरुपमा आयोजना हुने जुनसुकै कार्यक्रम ठिक समयमा शुरु हुने र आवश्यक व्यक्तिलाई मात्र मञ्चमा राख्ने पद्धति बसाल्न सकिएमा समयको सदुपयोग र कार्यक्रमको गरिमा बढाउन सकिन्थ्यो भन्नुभयो । कृतिकार डा दाहालले जापानी जनतामा समयको परिपालना र कामप्रतिको लगाव अथाह पाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफूले देखेका, सुनेका, जानेका, वस्तु, घटना, प्रकृतिको वास्तविक दृश्यलाई रिठ्ठो नविराइ यथार्थरुपमा राखिएको नियात्रा १७ शीर्षका विषय वस्तु समेटिएको छ ।” डा दाहालले गत जनवरी ३ देखि १७ गतेसम्म ओसाका, कोबे, टोकियो, नागोया, तोवालगायतको स्थानको अवलोकन भ्रमण गर्नुभएको थियो । दायित्व वाङ्मय प्रतिष्ठान नेपाल प्रकाशन रहेको उक्त कृति १२८ पृष्ठको रहेको छ । प्रतिष्ठान नेपालका अध्यक्ष रामप्रसाद पन्त र प्रह्लाद पोखरेलले सो अवसरमा कविता वाचन गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस