वर्षौं लाग्न सक्छ रेबिजको लक्षण देखिन

शनिबार, २५ जेठ २०७६, १७ : ०२
वर्षौं लाग्न सक्छ रेबिजको लक्षण देखिन

डा. शेरबहादुर पुन, सरुवारोग विशेषज्ञ शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
काठमाडाैं । रेबिज जनावरबाट मानिसमा सर्ने रोग हो । आरएनए भाइरस (रेबिज भाइरस)का कारण ब्वाँसो, फ्याउरो र स्याललगायत जंगली जनावरमा यो रोग उत्पन्न हुन्छ र घरपालुवा कुकुरमा सर्छ । विशेषगरी, कुकुरकोे टोकाइबाट मानिस र अन्य स्तनधारी प्राणीमा रोग सर्छ । रेबिज भाइरस उच्च तापक्रम र केही रसायनप्रति अति नै संवेदनशील हुन्छ । यो ६० डिग्री सेल्सियस तापक्रममा ३५ सेकेन्डसम्म मात्र बाँच्न सक्छ । 

यसरी सर्छ

- रेबिजका कीटाणु रोगी पशुको -यालमा रहने हुँदा घाउको माध्यमबाट शरीरमा प्रवेश गर्छन् । बिस्तारै स्नायु हुँदै मस्तिष्कमा संक्रमण गरी रोग उत्पन्न हुन्छ । बौलाहा कुकुरको टोकाइबाट सबैभन्दा बढी अर्थात् ९४ प्रतिशत रेबिज मानिसलाई सर्ने गर्छ । 
- स्याल, ब्वाँसो, न्याउरीमुसो र चमेरोको टोकाइबाट पनि रेबिज सर्न सक्छ । रेबिज भाइरस संक्रमण भएका जनावरको -याल वा अन्य पदार्थ मानिसको शरीर वा कुनै अंगमा रहेका घाउ, नाक, मुख तथा आँखामा लागेमा यो रोग गर्छ । साथै, रोगी मानिसको आँखाको नानी प्रत्यारोपण गर्दा पनि रेबिज सर्छ । 

लक्षण

- मानिसको शरीरमा रेबिज भाइरस प्रवेश गरेपछि रोग देखापर्न तीन देखि १२ हप्तासम्म लाग्छ । तर, कतिपयमा दुई वा पाँच दिनपछि पनि लक्षण देखापर्न सक्छ । कतिपय अवस्थामा यसको लक्षण देखिन वर्षौंसमेत लाग्न सक्छ । 
- घाँटीभन्दा माथिको भाग, औँला  र शरीरका धेरै ठाउँमा टोकेको छ भने लक्षण छिटो देखिन्छन् । सुरु–सुरुमा टाउको दुख्ने, झमझमाउने, एक्कासि चिलाउनेजस्ता लक्षण देखिन्छन् । बिस्तारै ज्वरो आउने, कमजोर हुने, मांसपेशी दुख्ने र झर्कने लक्षण देखिन्छन् । समस्या जटिल हुँदै गएपछि शरीरमा कम्पन हुने र होस हराउने हुन्छ । साथै, बिरामी विनाकारण बाझ्ने गर्छन् । 

-स्वास फेर्न गाह्रो महसुस हुन्छ । साथै, खानेकुरासँगै पानी पनि निल्न गाह्रो हुने समस्या देखापर्छन् । यी रेबिजको अन्तिम अवस्थाका लक्षण हुन् । 
-बिरामीमा हाइड्रोेफोबिया अर्थात् पानीदेखि डराउने समस्या दखापर्छ । जसलाई एरोफोयिबा पनि भनिन्छ, यो अवस्थामा पुगेको बिरामी धेरै दिन बाँच्दैन । 

नियन्त्रण तथा उपचार

- छाडा कुकुर वा शंकास्पद जनावरले टोकेमा जतिसक्दो चाँडो साबुन पानीले धोएर स्प्रिट लगाउनुपर्छ । सँगै एक्सपोजर खोप, हाइपर इम्युन सिरम (आइजिजी) र टिटानस खोपअनिवार्य लगाउनुपर्छ ।
- रेबिजविरुद्धको खोप मासुमुनि र छालामुनि गरी दुई किसिमले दिइन्छ । मासुमुनिको सुई चार र छालामुनिकोे सुई तीनपटक लगाउनुपर्छ । 
- यदि, कुकुर वा अन्यले टोकेमा सो जनावर घरपालुवा वा भुस्याहा कस्तो भन्ने पत्ता लगाउनुपर्छ । रेबिजविरुद्ध खोप लगाएको/नलगाएको यकिन गर्नुपर्छ । पशुलाई कम्तीमा १० दिन निगरानीमा राख्नुपर्छ । १० दिनभित्र पशु आफैँ मरेको खण्डमा प्रयोगशालामा परीक्षण गराई रेबिज भए/नभएको पत्ता लगाउन सकिन्छ ।  
रेबिजविरुद्धको खोप वेलैमा लगाउनुपर्छ । जसले गर्दा रोग लाग्नै नपाओस् । - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस