काठमाडौ । खाडी मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) बीचको समन्वयात्मक बैठक सम्पन्न भएको छ।
गैरआवासीय नेपाली संघको बालुवाटारस्थित सचिवालयमा बिहीबार आयोजित बैठकमा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभाग, सरकारी तथा गैरसरकारी संस्था, वैदेशिक रोजगारसँग सम्बन्धित निकाय, श्रमिक संगठन, विज्ञ तथा नीति अनुसन्धानकर्ता लगायत ३० भन्दा बढी संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।
बैठकमा सहभागी सरोकारवालाहरूले खाडी मुलुक र मलेसियामा कार्यरत नेपाली श्रमिकहरूले भोगिरहेका प्रमुख समस्या—जस्तै द्विपक्षीय श्रम सम्झौता उल्लंघन, तलब र सुविधा नपाउने समस्या, स्वास्थ्य र सुरक्षासम्बन्धी चुनौती, सामाजिक सुरक्षा कोषमा आबद्धता, श्रमिक संरक्षण संयन्त्र र कूटनीतिक समन्वयको कमी—बारे आ–आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा श्रमिक अधिकार सुनिश्चित गर्न, सुरक्षित र मर्यादित वैदेशिक रोजगारीको वातावरण सृजना गर्न, र श्रमिक हितका विषयमा सरकारी निकाय, एनआरएनए तथा सरोकारवाला संस्थाबीच सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिइयो। बैठकले आगामी दिनमा वैदेशिक रोजगारीसम्बन्धी नीतिगत सुधार, श्रमिक अभिवृद्धि तथा हकहित संरक्षणका लागि संयुक्त कार्ययोजना तयार गर्ने प्रतिबद्धता जनाएको छ।
बैठकमा संघका अध्यक्ष डा. बद्री केसी, महिला उपाध्यक्ष रोजिना प्रधान राई, सहकोषाध्यक्ष कृष्ण तिमल्सिना, सल्लाहाकार अतुल कोइरालालगायतले विधमान अवस्था र समाधानका उपायबारे धारणा राखेका थिए। फरक प्रसङ्गमा अध्यक्ष डा. केसीले वैदेशिक रोजगार वा स्वरोजगारमा रहेका नेपाली तथा गैरआवासीय नेपालीले संविधानमा किटान गरिएका अधिकारअनुसार सेवा–सुविधा पाउनुपर्ने उल्लेख गर्दै सरकारले ढिलाइ नगर्नुपर्ने बताए। उनले यस विषयमा सरोकारवाला निकायहरूले पनि सरकारलाई निरन्तर सचेत गराइरहनुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ कार्तिक २०८२, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरियामा सीपयुक्त श्रमिक पठाउने प्रक्रियाबारे दूतावासको स्पष्टिकरण
आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस