काठमाडौ । गृह मन्त्रालयले नेपाल प्रहरीकी एक प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई लामो समयदेखि गैरहाजिर रहेको भन्दै स्पष्टीकरण सोधेको छ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा कार्यरत प्रहरी निरीक्षक अनु लामालाई ७ दिनभित्र सन्तोषजनक कारणसहित हाजिर हुन सार्वजनिक सूचना जारी गरिएको हो।
मन्त्रालयद्वारा आज प्रकाशित सूचनाअनुसार, इन्सपेक्टर लामा असार २५ गतेदेखि २० दिनको घर बिदामा बसेकी थिइन्। बिदा सकिएपछि २०८२ साउन १६ गते कार्यालयमा हाजिर हुनुपर्नेमा उनी हालसम्म पनि अनुपस्थित रहेको र कार्यालयको सम्पर्कमा नआएको मन्त्रालयले जनाएको छ।
सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरण सहित हाजिर हुन आउनुहोला।’ तोकिएको समयभित्र हाजिर नभए प्रहरी नियमावली, २०७१ अनुसार ‘भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ कारबाही अघि बढाइने चेतावनीसमेत दिइएको छ। मन्त्रालयले यो सूचनालाई सफाइको अन्तिम मौका भएको पनि स्पष्ट पारेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ कार्तिक २०८२, ०८ : १३
लेखकबाट थप