बारबर्दियामा प्रधानमन्त्री रोजगार कार्यक्रम

रासस

शुक्रबार, २४ जेठ २०७६, २१ : २४
बारबर्दियामा प्रधानमन्त्री रोजगार कार्यक्रम

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाअन्तर्गत बारबर्दिया–१० मा उक्त कार्यक्रम शुरु भएको हो । 

आर्थिक वर्ष २०७५÷७६ मा करीब तीन सय २० जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी गराउने लक्ष्यअनुसार आज वडा नम्बर १० का २९ जनालाई काममा लगाइएको छ । बारबर्दियामा ११ हजारभन्दा बढीले रोजगारका लागि आवेदन दिएका छन् । उनीहरुलाई क्रमशः रोजगार दिँदै जाने नगरप्रमुख दुर्गाबहादुर थारुले बताउनुभयो । 

उपप्रमुख अञ्जु दहितले प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएकाले चालू आवमा ३० दिनका लागि मात्र काम शुरु गरिएको जानकारी दिनुभयो । आगामी आवदेखि एक सय दिनका लागि रोजगार सिर्जना गरिने उहाँले बताउनुभयो । नगरपालिकाका ११ वटै वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू आवमा रु ५९ लाख बराबरको काम हुने नगरपालिकाका रोजगार संयोजक कृष्ण थारुले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस