मेकअप गर्ने तरिका जानौँ

बुधबार, २२ जेठ २०७६, १९ : २४
मेकअप गर्ने तरिका जानौँ

सोफी सुनुवार, मेकअप आर्टिस्ट
काठमाडाैं । मानिसको व्यक्तित्व खुलाउन मेकअप आवश्यक छ । त्यसमा पनि महिलाको सौन्दर्यका लागि मेकअप एउटा अनिवार्य आवश्यकताजस्तै हो । नियमित मेकअप गर्ने कामकाजी महिलाले हलुका मेकअप गर्नु राम्रो हुन्छ । बाहिर हिँडिरहने महिलाले क्याजुअल लुगाअनुसारको मेकअप गरेमा प्राकृतिक देखिन्छ । लुगाको रङअनुसारको लिपस्टिक र आइस्याडो प्रयोग गर्न सकिन्छ ।

अब जानौँ, मेकअप विधि :

सुरुमा अनुहार सफा गर्नुपर्छ । फेसवास, नरम क्लिन्जिङ आदि प्रयोग गर्ने । प्रयोगपछि राम्ररी पखाल्ने । 
गर्मी मौसममा घामको किरण सीधा छालामा परेमा असर देखिन सक्छ । यसका लागि मेकअपअघि मोस्चराइजर लगाउनुपर्छ । छालाको प्रकृतिअनुसार मेटिफाइङ प्राइमर अथवा आयल फ्री मोस्चराइजरको प्रयोग गर्नुपर्छ । यसो गर्दा छालाको तैलीय तत्व सुक्छ र मेकअप राम्रो देखिन्छ । त्यस्तै, घाममा हिँड्दा सनस्क्रिम पनि लगाउन सकिन्छ ।

मोस्चराइजरपछि प्राइमर लगाउनुपर्छ । लिपिस्टिक र आइस्याडो प्राकृतिक देखिने, वाटरप्रुफ र नटल्किने खालको लगाउनु उचित हुन्छ । मेकअपका सामान जहिले पनि ब्रान्डेड प्रयोग गर्नुपर्छ । जसले गर्दा गर्मीमा हिँड्दा पसिना वा पानीको कारण बग्ने, लत्पतिने सम्भावना हुँदैन । गर्मीमा सकेसम्म हलुका मेकअप गर्नु उपयुक्त हुन्छ । सकेसम्म फिका रङ छान्नु आवश्यक हुन्छ । 
 आँखामा आइलाइनरको प्रयोग गर्न सकिन्छ । त्यस्तै, चमकरहित (हलुका गुलाबी र सुन्तला रङको) आइस्याडो लगाउँदा राम्रो देखिन्छ । साँझ र रातको पार्टीमा चमक भएको आइस्याडो लगाउन सकिन्छ । तर, दिउँसो रंगीन मेकअप अनावश्यक देखिन सक्छ । छालाका दृष्टिकोणले समेत यो नराम्रो हो । त्यसैले, दिउँसोको समयमा सकेसम्म गाढा मेकअप नगर्नु नै वेश हुन्छ । 
 अनुहारको बनावटअनुसार कपालको स्टाइल बनाएमा स्टाइलिस देखिन्छ । पसिनाको डरले गर्मीमा धेरैले कपाल बाँधेर हिँड्ने गर्छन् । जसले गर्दा टुक्रने डर रहन्छ । घरमा बस्दा सकेसम्म खुला छोड्न सकिन्छ । - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस