गर्मीमा छालाको संक्रमणबाट बच्न के गर्ने ?

प्रकाश सिग्देल

मंगलबार, २१ जेठ २०७६, १६ : १६
गर्मीमा छालाको संक्रमणबाट बच्न के गर्ने ?

बढ्दो गर्मी सबैका लागि टाउको दुखाईको बिषय हो । यो बेला काम गर्न मन नलाग्ने, खाना नरुच्ने, आलस्यता हुने लगायतका धेरै समस्या त छँदैछन् त्यसमा पनि अझ बिशेष रुपमा छालाको समस्या धेरैलाई यहि गर्मी समयमै हुने गरेको पाइन्छ । 

छालाको समस्या सामान्य अवस्थामा ध्यान नदिने र जटिल भइसकेपछि मात्रै डाक्टरकहाँ पुग्ने परिपाटी पनि छ । गर्मी समयमा छाला सुरक्षाका लागि सामान्य सावधानी अपनाउन नसक्नु नै छाला रोग फैलनुको मुख्य कारण रहेको वरिष्ठ छाला रोग बिशेषज्ञ डा. शुभकान्त गौतम बताउनु हुन्छ । 

गर्मीमा चर्को घाम र धुलोधुवाँले अनुहार तथा हातखुट्टाको छालालाई सोझो असर गर्ने, घामले छालालाई कालो, रुखो र फुस्रो बनाउँने हुँदा छालाको बिशेष सुरक्षा अपनाउन छालारोग बिशेषहरुको सुझाव छ । चर्को घाममा घरबाहिर हिँड्नेहरुले अनुहारको सुरक्षा निकै गर्नु पर्ने उनीहरु तर्क गर्छन् ।  चर्को घामले छालालाई स्वाभाविकभन्दा बुढो बनाइदिने हँुदा त्यो घामबाट बच्नु नै उपयोगी हुने सुझाव छ । 

छाला डढ्ने, चायाँपोतो आउने, डन्डीफोर आउने, फुस्रो हुने, दाद, पोतो, लुतो, घमौरा लगायतका समस्या सृजना हुने हँुदा गर्मीमा छालाको बिशेष सुरक्षा गर्न छाला रोग बिशेषज्ञहरु आग्रह गर्छन् । गर्मीमा छालारोगबाट कसरी बच्न सकिन्छ ? के के सावधानी अपनाउन जरुरी छ ? यो बिषयमा बरिष्ठ छाला रोग बिशेषज्ञ तथा दया हेल्थ केयर सेन्टरका निर्देशक डा. शुभकान्त गौतमसँगको कुराकानीमा आधारित केही सुझावहरु बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।  

पूरा शरीर ढाक्ने लुगा लगाउनु पर्ने
गर्मीमा घर बाहिर हिँड्ने हो भने शरीरको पूरा भाग ढाक्ने पहिरन लगाउनु पर्छ । हात, खुट्टा लगयातका भाग कपडाले छोप्न पाइयो भने घामले सोझो असर गर्दैन । 

मास्क प्रयोग गर्नु पर्ने
अनुहारमा मास्क लगाउनु होस् । मास्कले तपाईको आधाभन्दा बढी अनुहारको हिस्सा ढाकिदिन्छ । यसले धूलो, धुँवालाई फोक्सोमा जानमात्र रोक्दैन, अनुहारको छालालाई रक्षा पनि गर्छ । त्यसैले घाम र धुलो, धूँवाको असरबाट बच्न मास्क पनि उपयोगी छ । 

सन ग्लास लगाउनु पर्ने
गर्मीमा सन ग्लास लगाउनु निकै उपयोगी हुन्छ । यसले आँखाको सुरक्षा गर्छ । साथै अनुहारको पनि । एकातिर मास्क र अर्कोतिर सन ग्लास लगाएपछि अनुहारका अधिकांश हिस्सा सोझो घामको प्रभावमा नआउने र यसले धुलो र धूँवावाट पनि जोगाउने हुदा यो पनि उपयोगी तरिका हो ।  

बाहिर हिँड्दा छाता ओढ्नुहोस
यो सिजनमा छाता बहुउपयोगी हुन्छ । यसले गर्मीमा सितलता प्रदान गर्ने गर्छ भने आपतकालीन रुपमा पानी परे पनि यसले भिज्नबाट जोगाउँछ ।  गर्मीमा घामको सोझो किरणबाट बच्नका लागि छाता ओढ्नु नै उत्तम हुनेछ । 

दिनदिनै नुहाउनुहोस
कतिपयलाई दिनदिनै नुहाउन अनुकुलता नमिल्न सक्छ । तर, गर्मीमा नुहाउनु अनिवार्य छ । चिसो पानीले शरीरलाई फूर्तिलो राख्छ । गर्मीमा पसिनाको दुर्गन्ध हटाउन पनि नुहाउनु पर्छ । नुहाइएन भने ह्वास्स शरीरको गन्ध आउने र यसले व्यक्तित्वमा ठूलो असर गर्ने भएकाले पनि नुहाउनु पर्ने र त्यसबाट छालाको संक्रमणको भय पनि नहुने बताइएको छ । 

कपडाले कपाल र अनुहार ढाक्ने
महिलाहरुले गर्मीमा यताउता हिँडडुल गर्नुअघि स्कार्फ वा सलले केस तथा अनुहार ढाक्न सक्छन् । अहिले कतिपयले सलले कपाल र अनुहार ढाक्ने गर्छन्, जो एकदमै राम्रो काइदा हो । खासगरी स्कुटरमा हिँड्नेले सलले कपाल छोप्नुपर्ने हुन्छ । गर्मीमा हेभी मेकअपमा पनि ध्यान दिन उहाँको सुझाव छ । 

कपालको लागि विशेष टिप्स 
धेरैले भोगेकै हुनुपर्छ, चर्को गर्मीमा कपाल ड्राइ हुने, हाँगा आउने, फोहोर जम्ने, टुक्रिने, खुम्चिने समस्या हुन्छ । यसबाट जोगिनका लागि राम्रो हेयर व्रसले केस कोर्न सके राम्रो हुन्छ । 

प्रशस्तै पानी पिउने
गर्मीमा प्रशस्तै पानी पिउन सके राम्रो हुन्छ । ताजा फलफूल त्यसमा पनि पानीको मात्रा धेरै भएको फलफुल पिउन सके राम्रो हुने उहाँको तर्क छ ।

जंकफूड सेवन नगर्ने
घरबाहिरको खानेकुरा खासगरी पानीपुरी, चटपटे, जंकफूड सेवन नगर्न उहाँको सुझाव छ । यस्ता खानेकुराले स्वास्थ्य कमजोर बनाउने र  छाला र कपालमा पनि त्यसको असर देखिन्छ । 

कस्मेटिक सामान प्रयोगमा ध्यान दिने
जथाभावी कस्मेटिक सामान प्रयोग नगर्ने र सम्बन्धित डाक्टरलाई देखाएर मात्रै औषधि प्रयोग गर्ने, राम्रो पार्लर भनेर जथाभावी क्रिम प्रयोग नगर्ने हो भने पनि धेरै समस्या समाधान हुने उहाँ बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस